माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने

१ हप्ता अगाडि

काठमाडौँ - संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्ध जलासययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । 

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक उच्च नेतृत्वबीच वासिङटन डीसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको हो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । माथिल्लो अरुणमा विश्व बैंकले वित्तीय व्यवस्थापनको नेतृत्व गर्ने विषयमा सैद्धान्तिक निस्कर्षमा पुगिएको भ्रमण टोलीका सदस्य एवं अर्थ मन्त्रालयको अन्तर्राष्टिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए ।

नेपाल सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि सहमतिले औपचारिकता पाउनुका साथै वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुनेछ । गेमचेन्जर आयोजना माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको नेतृत्व विश्व बैंकले गर्नेछ विश्व बैंकको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ । उक्त आयोजना निर्माणको लागत कति हुने भने टुंगो लाग्न बाँकी छ । अमेरिका जानु अघि मन्त्री पुनले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, विश्व बैंक र एसियाली विकास बैंकका नेपाल निर्देशकसँग माथिल्लो अरुणको वित्तिय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउनेबारे छलफल गरेका थिए । 

बैठकमा विश्व बैंकको लगानीमा सञ्चालित अरु विकास आयोजनाको कामलाई समेत तीव्रता दिने विषयमा छलफल भएको थियो । नेपालले परम्परागत रुपमा उपयोग गर्दै आएको विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) सुविधा बढाउने र आयोजनाहरुमा विविधिकरण गर्नेबारे समेत कुराकानी भएको छ । त्यसक्रममा मन्त्री पुनले नेपालको विकास पूर्वधार निर्माणमा आन्तरिक श्रोतको सीमितता रहेकाले वैदेशिक लगानीको जरुरी रहेको बताए । उनले मलेरिया निवारुणको समयदेखि नै विश्व बैंकले नेपालका लागि गर्दै आएको अनुदान र सहुलीयतपूर्ण ऋण सहायताका लागि धन्यवाद दिँदै आगामी दिनमा थप लगानी बढाउन आग्रह गरे ।

१ हप्ता अगाडि

प्रतिक्रिया