सरकार पाँच वर्ष टिक्नु मात्र उपलब्धी हो ?

शनिबार, १९ जेठ २०८१, ०९ : २६

हरेक निर्वाचनपछि बन्ने सरकारहरुले स्थिरता दिन सक्छन कि सक्तैनन् भन्ने बहस पुरानो भैसकेको छ । सरकारको नेतृत्व  गर्ने प्रधानमन्त्रीले पनि सरकार कसरी पाँच वर्ष टिकाउने भन्ने विषयलाई मात्र महत्व दिएको देखिन्छ । यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गरे ।

वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भने, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।” 
सरकार जसरी पनि पाँच वर्ष टिकाउने मात्र ठूलो कुरा होइन । यसलाई नै ठूलो उपलब्धीको रपमा व्याख्या गर्न पनि सकिदैन । मूलकुरा सरकारले मुलुकमा समृद्धी र सुशासन दिन सक्यो कि सकेन भन्ने महत्वपूर्ण विषय हो । हुने नहुने हर्कत गरेर सरकार टिकाइराख्नुको कुनै अर्थ हुँदैन । बेथिति, बिकृति र विसंथतिको थुप्रोमा बसेर सरकारको आयु लम्व्याउनुलाई कसैले पनि बहादुर नठाने हुन्छ । देश दिनप्रतिदिन संकटतर्फ उन्मुख भैरहेको छ । युवा पुस्ताको विदेश पलायन रोक्न सकिराखेको छैन । सरकार आफ्ना निकटस्थ र आसेपासेहरुको लागि मात्र बनेको आभाष भैरहेको छ । स्रत्ताका खेलाडि मुख्य राजनीतिक दलका नेताहरुप्रति जनतामा कुनै आशा, भरोसा र श्रद्धाभाव देखिदैन । नयाँ र वैकल्पिक शक्ति भनिएका दलहरु पनि पुराना दलहरुकै मतियार भएको देख्दा नागरिकमा ठूलो निराशा र वितृष्णा देखिन्छ । सत्ता बचाउनका लागि जस्तासुकै गलत काममा पनि संझौता गर्ने ठूला भनिएका दलहरुको प्रवृत्ति देशकै भविष्यको लागि घातक छ । त्यसैले जेनतेन सरकार बचाउनुलाई नै राजनीतिक स्थिरताको रुपमा व्याख्या गर्नु मुतको न्यायानोमा सुत्नु मात्र हो । 
प्रधानमन्त्री दाहालले आफ्नो पार्टीको संसदीय दलमा  व्यक्त गरेको विचार पनि यस्तै कडीको दृष्टान्त मात्र हो । उनले बैठकमा ठूलो अन्योलको बीचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसद्मा प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिए । तर बजेटले आम नागरिकमा कुनै आशा जगाउन सकेको छैन । अर्थतन्त्रलाई बजेटले चलायमान बनाउन नसक्ने भनेर विज्ञहरुले नै बताइसकेका छन् । बजेट सामान्य औपचारिकता र निरन्तरताको एउटा प्रक्रिया मात्र हो । सुस्ताउँदो र शिथिल अर्थतन्त्रलाई गति दिने कुनै नयाँ र प्रभावकारी कार्यक्रम बजेटमा समेटेको देखिदैन । यस्तो अवस्थामा सरकार टिकाइएको छ र अरु पाँचै वर्ष टिक्छ भनेर आत्मरति लिनु बेकार छ ।  

शनिबार, १९ जेठ २०८१, ०९ : २६

प्रतिक्रिया