नेपालमा वर्षेनी बाढी, पहिरो र डुबानले ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ । यसै साता मात्र दर्जनौं मानिसहरु प्राकृतिक प्रकोपका घटनामा परी हताहत भएका छन् । त्रिशुलीमा खसेका दुई यात्रु बाहक बसहरु अहिलेसम्म पनि भेटिएका छैनन् । प्राकृति प्रकोपलाई कसैले रोक्न त सक्तैन तर यसलार्य नियन्त्रण र न्यूनिकरण भने गर्न सकिन्छ । एक अध्ययन अनुसार नेपालबाट वार्षिक रूपमा करिब २२५ घनमिटर प्रतिसेकेन्ड पानी बग्ने गरेको पाइन्छ । वर्षातमा बाढी र हिउँदको समयमा कम जलस्रोतको उपलब्धता रहने गरेको छ । नेपालमा गण्डकी, कोशी, कर्णाली र महाकाली जस्ता ठूला नदीहरू छन् भने राप्ती, कमला, वाग्मती, बबई, कन्काई मझौला नदीका रूपमा छन् ।
नेपालमा ६ हजारभन्दा बढी नदीनालाहरु रहेका छन् । यिनीहरुको मुहान हिमालय क्षेत्र रहेको छ । यी नदीहरु हिमालयन पर्वत शृंखलाबाट उद्गम भएर बहने ठूला नदीहरूमा बाह्रैमास पानीको मात्रा अत्यधिक हुने गरेको छ । तिनीहरू पानी प्रशस्त हुने जलाधार नदीका रूपमा रहेका छन् । मझौला नदीहरूमा वर्षातको समयमा अत्यधिक पानी हुन्छ, त्यति बेला बाढी, डुबान, कटान र पटान हुन्छ । हिउँदमा कम बहाव हुन्छ । मझौला नदीहरू महाभारत पहाडबाट उद्गम भएर भारत प्रवेश गर्छन् । अर्कातर्फ चुरे शिवालिक क्षेत्रबाट बहने नदीहरू प्रायः खहरे किसिमका नदीरखोला हुन् । तिनीहरू वर्षातमा गडगडाएर बग्छन्, हिउँदमा पानीको हाहाकार हुन्छ ।
नेपाल जस्तो कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकमा नदी र खोलाहरुको वैज्ञानिक र व्यवस्थित उपयोग गरी समृद्धीको यात्रामा अघि बढ्न अपहरिहार्य छ । अर्कातिर बाढीपहिरो, डुबान, कटान र पटानबाट हुन सक्ने असरलाई न्यूनीकरण गरी जीउधन र पूर्वाधार जोगाउनुपर्नेछ । नेपालका पाँच मझौला नदीहरूमध्ये कन्काई झापा हुँदै, कमला सिरहा र धनुषा हुँदै र वाग्मती सर्लाही हुँदै बगेका छन् भने बबई नदी बर्दिया र पश्चिम राप्ती नदी दाङबाट बाँके हुँदै भारत प्रवेश गर्छन् । बबई नदीमा आउने बाढीले बर्दिया जिल्लाको घोरभित्ता, वनकट्टी, कुसुम्बाघाट, बालापुर, गुरुवागाउँ, जब्दीघाट, प्रयागपुर, पशुहाट, थपुवा, लड्कनियालगायतका स्थानमा अत्यधिक क्षति पुर्याउने गरेको पाइन्छ । बर्दिया सदरमुकाम गुलरिया पनि बबई नदीको बाढीबाट अत्यधिक जोखिममा छ ।
दैवी प्रकोप पूर्व सूचना दिएर आउँदैन । तर वर्षातमा यस्ता घटनाहरु प्राय ः भैरहन्छन् भन्ने कुरा सरकारी संयन्त्रलाई थाहा भएकै विषय हो । तर पनि सरकारले घटना भैसकेपछि मात्र उद्धार र नियन्त्रणका उपायहरु खोज्ने गर्दछ । यसको लागि पहिले नै पूर्वतयारी गर्नुको विकल्प छैन । साथै राज्यले दूरगामी नीतिहरु ल्याएर वातावरणमैत्री तथा दिगो विाकासको अवधारणा अनुसार विकास निर्माणका कामहरु अघि बढाउनु आवश्यक हुन्छ । नेपालमा बाढी जोखिम र क्षतिको मूल्यांकनमा गेग्रान, कटान र पटान महत्त्वपूर्ण कारक हुन् तर यस्ता प्रकोपहरूको गहन अध्ययन गरी जोखिम र क्षतिको मूल्यांकन गरेको विरलै मात्र पाइन्छ । बाढी, डुबान, गेग्रान, कटान र पटानसमेतको एकीकृत प्रभावलाई ध्यानमा राख्दै जोखिम पहिचान र क्षतिको अनुमान गरेर बहाव क्षमताका आधारमा विभिन्न विधि विकास गर्नु आवश्यक छ । माथिल्लो र तल्लो तटीय क्षेत्रबीच पूर्वचेतावनी, सावधानी प्रणाली, रेडियो, टेलिभिजनबाट औपचारिक र अनौपचारिक सूचना प्रवाह प्रणाली, सूचना आदानप्रदान, विपद् शिक्षा, राहत उद्धार तालिम एवं अस्थायी तथा स्थायी आश्रय स्थलको व्यवस्थापन पनि प्रभावकारी हुनुपर्छ ।
जीउधन र पूर्वाधार संरक्षणका लागि एकीकृत अध्ययन गरी बाढी, गेग्रान, कटान, पटानको जोखिम नक्सा तयार गर्नुपर्छ र त्यहीअनुसार जग्गा उपयोग नीति बनाइनुपर्छ । बाढी तथा विपद् प्रतिरोधी संरचना निर्माण पनि गर्नुपर्छ । साथसाथै यसको दीर्घकालीन समाधानको लागि जोखिम क्षेत्रको बस्ती स्थानान्तरण गर्ने योजना पनि सरकारले गराउन आवश्यक भैसकेको छ ।
प्रतिक्रिया