काठमाडाैं- नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको नयाँ गठबन्धनले सोमबार पूर्णत पाएकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ जना मन्त्रीले आज राष्ट्रपतिको हातबाट पद तथा गोपिनियताको सपथ लिएका छन् । उनीहरुले आजै मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् भने नयाँ घोषणा समेत गरेका छन् । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पदभार सम्हालेका छन् । कार्यभार सम्हालेसँगै मन्त्री दाहालले पहिलो राष्ट्रिय यातायात नीति मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेका छन् । राष्ट्रिय सभाका सदस्य समेत रहेका दाहालको मन्त्रालयमा यो पहिलो यात्रा हो ।
नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्। सोमबार पदभार ग्रहण गरेसँगै अर्थमन्त्री पौडेलले वैकल्पीक वित्त कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन् । यससँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुनेछ। उनले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै भन्दै नयाँ गठबन्धन आएपछि अब स्थिरता हुने जिकिर गरे । जनताको निराशा चिर्ने र आशा जगाउने कार्य गर्ने मन्त्री पौडेलले दावी गरे । मन्त्री पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा बुझ्नुपर्ने समेत बताएका छन्। उनले सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने बताए । मन्त्री पौडेलले पाचौं पटक अर्थमन्त्रीको कार्यभार सम्हालेका हुन् ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कार्यभर ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गरेसँगै मन्त्री भण्डारीले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका कामलाई निरन्तरता दिने बताएका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेमा मन्त्री भण्डारीले जोड दिए । मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् । पत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने पनि उनले बताए ।
नियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री चौरसियाले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताएका छन् । कानुन बनाउने मन्त्रालय भएकाले विधेयक, कानुनहरु सबै कुराको ख्याल गरि जनतालाई न्याय मिल्ने गरि काम गर्ने बताएका हुन् ।
नवनियुक्त गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार गृहमन्त्रीको कार्यभार सम्हालेसँगै मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् ।मन्त्री चौधरीले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने समेत बताएका छन् ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका हुन् । उनले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने समेत बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् ।सोमबार पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
उनले नेकपा एमालेको तर्फबाट पहिलो पटक मन्त्रीको जिम्मेवारी सम्हालेकी हुन्। नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ लिएर कार्यभार ग्रहण गरेसँगै उपप्रधान मन्त्री सिंहले मुलुकलाई स्थायीत्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको भन्दै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने धारणा राखे ।मन्त्रालयको काम कर्तव्यको सीमा भित्र रहेर जनताको अपेक्षा अनुसार काम गर्ने मन्त्री सिंहले बताए।
खानेपानी मन्त्री प्रदीप यादवले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृति गर्ने निर्णय गरेका छन्। जनता समाजवादी पार्टी जसपा का नेता समेत रहेका यादव प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ प्रविधिको प्रयोग गरी छिटो छरितो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जनका लागि समिति गठन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्।मन्त्री गुरुङले सूचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानुनी व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रमका रहेका विषयलाई कार्यान्वयनका लागि डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भएकाले समिति गठन गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका हुन्। मन्त्री गुरुङले समग्र अध्ययन गरी आवश्यकता आधारमा मन्त्रालयको कामलाई अघि बढाउने धारणा राखे।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पदभार सम्हालेसँगै ‘ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि गर्नुपर्ने कार्य र सो को कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको प्रस्ताव’मा हस्ताक्षर गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री खडकाले सबै नेपालीको घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यका साथ काम गर्ने विश्वास दिलाए । उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सरकारको निर्णय कार्यान्वयन गराउने प्रतिबद्धता जनाए । उनले डेडिकेटेड’ र ट्रङक लाइनका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने उल्लेख गरे।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् ।सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए ।मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने बनाउने गरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्ने बताए ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गरेका छन् । सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री भण्डारीले प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । मन्त्री भण्डारीले उद्योग मन्त्रालयले प्रदान गर्ने सेवा र यस क्षेत्रको विकासका लागि नेतृत्व तहबाट आफूले सम्पूर्ण सहयोग गर्ने बताउँदै कर्मचारीलाई दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराई–मधेश द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदवालीपछि मन्त्री राईले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाएउका छन् उनले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपानका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गरे ।
नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षरगरेको हुन् ।आज सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उहाँले कृषि दशक सफल बनाउन आवश्यक लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् । त्यस अवसरमा मन्त्री अधिकारीले कृषि क्षेत्रको विकास भएमा मात्र मुलुकको विकासमा ठूलो सहयोग पुग्ने भएकाले सोहीअनुसार क्रियाशील हुन सम्बद्ध कर्मचारीलाई निर्देशन दिए ।
गाउँमात्र नभई खेतीयोग्य तराईका फाँटसमेत बाँझो भएकाले त्यहाँ उत्पादन गराउन मन्त्रालय लागिपर्ने उनको भनाइ छ । ुसांसद हुनुअघिसम्म आफूले खाने अन्न आफैँ उत्पादन गर्थेँ, गोलभेँडा, धान, मकै, कोदो उत्पादन गर्ने तरिका मलाई पनि थाहा छ मन्त्री अधिकारीले भने ।
प्रतिक्रिया