निर्माण व्यवसायीहरूको भुक्तान हुन बाँकी रकम तत्काल उपलब्ध हुने

शुक्रबार, ०४ साउन २०८१, १७ : ००

काठमाडौँ - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको भुक्तान हुन बाँकी रकम तत्काल उपलब्ध गराइने प्रतिबद्धता जनाउनु भएको छ ।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग अर्थ मन्त्रालयमा भेट गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा गलत सन्देश गएको स्विकार गरे । विकास निर्माणसँग सम्बन्धित् मन्त्रालयका सचिवहरूसँग परामर्श गरी अविलम्ब निर्माण व्यवसायीहरूको रकम भुक्तान गर्ने विषयमा आफूले छलफल गरिसकेको उनले बताए । ‘सरकार र निर्माण व्यवसायी एकै डुङ्गाका यात्री हुन्, त्यसैले दुवै पक्ष सहकार्य गरी अघि बढ्नुको विकल्प छैन’ उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने ।

निर्माण व्यवसायीहरूका अन्य समस्या पनि क्रमश: सम्बोधन हुने जानकारी गराउँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले व्यवसायीहरूले पनि तोकिएको रकममा समयमै गुणस्तरीय कार्य गर्नुपर्ने खाँचो औल्याए । निर्माण व्यवसायीहरू नै मुलुकको विकासका अभियन्ता भएकाले सरकारलाई भरोसा गरी आत्मगौरवका साथ कार्य गर्न उनले निर्माण व्यवसायीहरूलाई सुझाव दिए । मुलुकको व्यवस्था फेरिए पनि अवस्था नफरेएिको बताउँदै उनले आफू समस्या देखाउने नभई समस्या समाधन गर्ने हिसाबले अघि बढ्ने प्रतिबद्धता जनाए ।

महासंघ अध्यक्ष रवि सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल समक्ष निर्माण उद्योगलाई पनि कृषि तथा जलस्रोत क्षेत्र झै सहुलियत दिन आग्रह गरे ।महासंघ प्रतिनिधिमण्डलले शुक्रवार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटी निर्माण उद्योगमा देखिएको भुक्तानी लगायतका समस्याहरूबारे जानकारी गराएको छ । जवाफमा मन्त्री दाहालले ‘लो बिडिङ’ का कारण निर्माण उद्योगमा धेरै जटिलता देखिएकाले कानून संशोधन गरेर भएपनि लो बिडिङको समस्या हल गरिने प्रतिबद्धता जनाए ।

मुलुकमा हुने विकास निर्माणका हरेक काममा स्वदेशी व्यवसायीलाई नै प्राथमिकता दिने व्यवस्था राज्यले गर्ने मन्त्री दाहालले बताए । निर्माण व्यवसायीहरूसँग आफ्नो निकट सम्बन्धमा रही निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्न पहल गर्ने मन्त्री दाहालले बताए । महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । 


 

शुक्रबार, ०४ साउन २०८१, १७ : ००

प्रतिक्रिया