दुई महिने छोराको हत्या आरोपमा आमा पक्राउ

शनिबार, ०५ साउन २०८१, १२ : २७

काठमाडौँ - ओखलढुङ्गामा विष खुवाएर दुई महिने बालकको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ ।

बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी समक्ष बयानमा आरोपित राईले बच्चालाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । जन्मेदेखि रोई राख्ने, दिक्क लगाउने गरेकाले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

 गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका–८ बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा मृतक शिशु सिद्धिचरण नगरपालिका–४ चार्खुका युवराज राई र दीप कुमारीको छोरा हिमाल राई रहेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दिपकुमारीलाई प्रहरीले सोही दिन पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

शनिबार, ०५ साउन २०८१, १२ : २७

प्रतिक्रिया