काठमाडौँ- १० दिनअघि नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा गाडीसहित त्रिशूलीमा खसेका ३७ यात्रु अझै बेपत्ता छन्। चितवनको सिमलतालदेखि भारतका नहरसम्म खोज्दा सुरक्षाकर्मीले बेपत्ता ६२ मध्ये २५ जनाको शव फेला परेका छन्। तर तीमध्ये १० वटा शवको सनाखत भइसकेको छैन।
यी यात्रु बोकेर गएका दुई वटै बस भेटिएका छैनन्। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपाने भन्छन्, ‘अझै केहीको त फेला पर्ला, तर सबैको शव भेटिने सम्भावना न्युन हुँदैछ।’
नदीले बगाएर भारत पुर्याएका शव भारतीय सीमा सुरक्षा बल एसएसबीले फेला पार्न थालेको छ। शुक्रबार भारतको पश्चिम चम्पारण बगाहास्थित नहरमा एसएसबीले एउटा शव फेला पार्यो यसअघि बिहीबार पनि एसएसबीले भारतीय भूमिमै दुईवटा शव भेटेको थियो।
अहिले त्रिशूलीमा दुर्घटनामा परेकाहरूको खोजीकार्य नेपाल र भारतकै नदी किनारमा भइरहेको छ। बेपत्ताको शव भेटिने सम्भावना कम भएकै कारण सरकारले १० दिनसम्म पनि बेपत्ता भएकाहरूका परिवारलाई मृतकसरह नै राहत दिने निर्णय गरेको छ। सशस्त्र प्रहरी प्रवक्ता न्यौपाने भन्छन्, ‘अब बेपत्ताको शव नेपालमै त भेटिने सम्भावना कम छ। तर सरकारले स्थगित नभनेसम्म हामी खोजी कार्य जारी नै राख्छौँ।’
यसअघि पनि त्रिशूलीमा खसेका ४५ जना मानिस हराएको हराई छन्। ६ वटा गाडी पनि अझै नभेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। त्यसरी त्रिशूलीमा बिलाउनेमा पूर्वगृहमन्त्रीदेखि सुरक्षाकर्मीसम्म छन्। २०७३ असोज ९ गते मुस्ताङबाट काठमाडौँ फर्किंदै गरेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार स्कोर्पियो चितवनको घोप्टेभिरबाट त्रिशूलीमा खस्यो। मुक्तिनाथ दर्शन गरेर फर्किंदै गरेका माधव भाइहरू प्रकाश र मनमोहनसँगै त्रिशूलीमा बिलाए। उनी चढेको बा ९ च १५३१ नम्बरको गाडी पनि भेटिएन।
नेपालका सुरक्षाकर्मी र गोताखोरसहितको टोलीले फेला पार्न नसकेपछि बंगलादेशबाट पनि गोताखोर झिकाइएको थियो। तर बंगलादेशबाट आएका गोताखोर माथिबाटै त्रिशूली हेरेर फर्किए। नदीमा पसेनन्।
अहिलेसम्म पनि घिमिरेका तीन दाजुभाइ र गाडी फेला परेका छैनन्। अब भेटिने सम्भावना नै नरहेको डीआईजी न्यौपाने बताउँछन्।
त्यसको ९ महिनापछि अर्को स्कोर्पियो र ट्रक त्रिशुलीमा खसे। २०७४ असार ९ गते प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित ४ जना सवार सकोर्पियो ट्रकसँगै दुर्घटनामा परेर त्रिशूलीमा खसेको थियो। त्यहाँ रहेका चारै जनाको शव फेला परे पनि ना १ झ १३९० नम्बरको स्कोर्पियो र ना ५ ख ७८२७ नम्बरको ट्रक त्रिशूलीमै बिलाए।
२०७९ सालमा तीन महिनाको फरकमा दुईवटा गाडी र एक जना मानिस पनि त्रिशूलीले निल्यो। वैशाख २५ गते ग १ त ४८९८ नम्बरको ट्रयाक्टर चालकसहित खसेको थियो। चालक मगर सिंह चेपाङ र ट्रयाक्टर अझै फेला परेका छैनन्।
साउन २८ गते ना ७ ख ७१०३ नम्बरको ट्रक खस्यो। चालक सकुशल रहे। तर ट्रक भने हराएको हरायै भयो। ३२ वर्षपहिले ४२ यात्रु लिएर झापाबाट काठमाडौँतर्फ जाँदै गरेको बस पनि कृष्णभीर नजिकबाट यात्रुसहित बिलायो।
२०४९ सालमा भएको यो घटनामा बसमा रहेका सबै ४२ जना यात्रु फेला परेनन्। गाडीको चिनो पनि फेला परेन। स्वाभिमान परिवहन नामक बस त्रिशूलीमा हराएपछि नेपालका सुरक्षाकर्मीले खोजी गरे। त्यतिबेला सशस्त्र प्रहरीको स्थापना नै भएको थिएन। नेपालमा तालिमप्राप्त जनशक्तिको अभाव थियो।
बंगलादेशबाट गोताखोरसहितको टोली ल्याएर खोजी गरियो। तर विदेशी टोलीले पनि भेट्टाउन सकेन।
‘अहिलेसम्म जति पनि बस र मानिसहरू हराए, त्यो त्रिशूलीको बहाव र गहिराइको कारणले गर्दा हो। हाम्रा प्राविधिक दक्ष टोलीले यही भनेका छन्। अहिले हराइरहेकाहरू र बस नभेटिनुको कारण चाहिँ बाढी र लेदोसहितको पानी भएर पनि हो, जसका कारण हामीसँग भएको प्रविधिले पनि राम्रो नतिजा दिन सकेन,’ डीआईजी न्यौपानेले नेपालखबरसँग भने।
सशस्त्र प्रहरीका अनुसार यी ८ वटा दुर्घटनामा परेका ८२ जनाको शव अझै फेला परेको छैन।

किन भेटिँदैनन् ?
कृष्णभिर नजिकैबाट २०४९ मा ‘स्वाभिमान परिवहन’को बस त्रिशूलीमा खसेको थियो । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको सो बसमा ४२ यात्रु थिए । यात्रु र बस फेला परेनन् ।
लामो समयसम्म सवारीसाधनका अवशेष र यात्रुको अवस्था नभेटिनुमा त्रिशूलीको बहाव नै मुख्य कारण भएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी)कुमार न्यौपानेले बताए । उनले भने, ‘नदीको बहाब र गहिराइ मुख्य कारण देखिन्छ ।’

वर्षाको समयमा खसेका सवारी साधनका केही टुक्रा हिउँदमा भेटिन्छ तर, ती टुक्रा कुन सवारीको थियो भन्ने पत्ता लगाउन कठिन हुन्छ । कवाड सङ्कलन गर्नेहरूले ती टुक्रा उठाएर लैजान्छन् । त्रिशूलीमा लामो समयदेखि उद्धारमा सक्रिय सशस्त्र प्रहरीका एक जना अधिकृत भन्छन्, ‘उच्च बहावका कारण ठोक्किँदा ठोक्किँदा सवारी साधन नदीको बेसमा पुग्छन्, ठुला ढुङ्गामा अड्किन्छन् ।’ उद्धारकर्ताहरू त्रिशूलीलाई ‘मिस्ट्री रिभर’ भन्छन् । ठुला ढुङ्गामा उच्च बहावले हान्दा सवारी साधन टुक्रा भएर नासिने उद्धारकर्ताहरू बताउँछन् । सशस्त्र प्रहरीका एक जना गोताखोर भन्छन्, ‘त्रिशूली सदावहार तीव्र वेगमा बग्छ अनि, सिटबाट धकेलेर शव निकाल्छ ।’
नारायणीको भङ्गालो हुँदै गण्डक नहर पुग्दा सवारी साधन हराउने गरेको उद्धारकर्ताहरू सुनाउँछन् ।

पृथ्वीराजमार्गमा सवारी दुर्घटना हुनुका कारणहरु
१. चालकको लापर्बाही
बसका चालकले गाडी तीव्र गतिमा हुँइकिएको र थकानका कारण चालक निदाएको हुनसक्ने ट्राफिक अधिकारीहरूको अनुमान छ ।
सडक
सरकारले दुई सय ५० किलोमिटरभन्दा लामो दुरी तय गर्दा ठूला सवारीसाधनले अनिवार्य रूपमा दुईजना चालकहरू राख्नुपर्ने व्यवस्था गरेको छ।
तर धेरैजसो बसमा एक जना मात्र चालक रहने पाईने गरेकोे छ । दुईजना चालक भए पनि एक जनाले मात्रै गाडी कुदाएको पनि पाइएको प्रहरीहरुको भनाइ छ।
लामो दुरी पार गरेर राजधानी भित्रिने क्रममा पृथ्वी राजमार्ग पार गर्दा चालकहरू निदाएका कारण दुर्घटना भएका खबरहरू बेला बेला आइरहन्छन्।यातायात व्यवसायीहरू पनि त्यसमा आंशिक सत्यता रहेको स्विकार्छन र त्यसलाई रोक्न आफूहरूले विभिन्न जानकारीमूलक अभियान चलाएको बताउँछन्।
२. सडकको जीर्ण अवस्था
राजधानीको जीवनसँग प्रत्यक्ष रूपमा जोडिने भएपनि दुई लेनको उक्त सडकको अवस्था लगभग जीर्ण बनिसकेको छ। अत्यधिक भार बोकेका सवारीसाधनहरूका कारणले राजधानी प्रवेश गर्ने लेनमा सडकको सतह निकै बिग्रिएको छ।
धादिङमा काम गरेका एक सुरक्षा अधिकारीका अनुसार धेरै भार बोक्ने १६ देखी २० चक्के भारतीय मालवाहक ट्रकहरूको चाप बढ्दै जाँदा त्यसले सडकलाई कमजोर बनाएको देखिन्छ।
राजमार्गमा सवारीसाधनले बोक्न पाउने वजनबारे सरकारी मापदण्ड रहेपनि वजनको जाँच गर्ने वा कडाइ गर्ने गरेको पाइँदैन्।
३. कठिन घुम्ती, साँघुरो पुल र तीव्र गति
दैनिक हजारौँ सङ्ख्यामा सवारीसाधनले राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा साँघुरो घुम्तीहरू रहेका छन्।
माथि अग्लो भीर र तल नदी रहेको उक्त राजमार्गमा गन्तव्यमा चाँडो पुग्ने होडबाजीले द्रुत गतिमा गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन्।
घुम्ती मात्र नभइ पुल समेत साँघुरो रहेकाले त्यसकै कारणले पनि दुर्घटना भएका प्रदेश नं ३ का ट्राफिक प्रहरी प्रमुख नवीन राई बताउँछन्। राईका अनुसार उक्त राजमार्गमा कतिपय ठाउँमा बनाइएका पुलहरू निकै छोटा छन् जसले गर्दा ठूला सवारीसाधनले मोड्न समेत पर्याप्त स्थान पाउँदैनन्।
४. दक्ष चालकको अभाव
दक्ष चालकको अभावका कारण पनि दुर्घटना हुने गरेको छ ।
अधिकांश अवस्थामा दुईवटा चालक राख्ने नियम पनि पालना भएका छन् तर सरकारले ठूला सवारीसाधनका चालकहरूको लागि अनुमतिपत्र जारी नगर्दा चालकको उत्पादन नै रोकियो।ूत्यसले गर्दा सवारीसाधन हाँक्ने जनशक्तिको अभाव रहेको छ।
५. सङ्केत चिन्ह र बत्तीको अभाव
सडक सुरक्षाका लागि राजमार्गमा ट्राफिक बत्ती, सङ्केत चिन्ह, सडक रेखा र अन्य पूर्वाधारहरू दुरूस्त हुनुपर्छ। तर पृथ्वी राजमार्गमा कृष्णभीरसहित पहिरोको जोखिम रहेका कैयौँ स्थानहरू छन् जहाँ त्यस्ता चिन्हहरूको अभाव रहेको छ । यस कारण पनि पृथ्वी राजमार्गमा दुर्घटना बढि हुने गरेको पाईन्छ ।
प्रतिक्रिया