काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता देखाउँदै विद्युत आपूर्ति रोकिएका ६ वटा उद्योगमा लाइन जोडिदिने निर्णय गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उद्योगहरूमा लाइन जोडिदिन यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत नियमन आयोग दुवैले निर्देशन दिएका थिए ।
प्राधिकरणले गत असार २५ मा रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायत ६ उद्योगको लाइन काटेको थियो । लाइन जोड्ने प्रयोजनका निम्ति गत शुक्रबार बोर्ड बैठक बसेको थियो, तर निर्णय हुन सकेको थिएन ।
सोमबार बसेको बैठक पनि अनिर्णित थियो । तर, मंगलवार बसेको बैठकले ३ महिनाभित्र महसुल बुझाउने शर्त राखेर लाइन जोडिदिने निर्णय गरेको प्राधिकरणले जनाएको छ । तर, यो निर्णयमा सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यले असहमति जनाएका छन् ।
पुनले भने, 'कानूनअनुसार विद्युत महसुल उठाउनुपर्नेमा पुनः लाइन जोड्ने निर्णयमा असहमति भनेर लेखेका छौं ।' प्राधिकरणका अर्का सञ्चालक रतन अयरले निर्णय हिजै भए पनि माइन्युट आज बनेको बताए । 'आज बैठक थिएन, हिजो कै निर्णयलाई माइन्युट बनाएर सदर गरिएको हो,' उनले भने ।
निर्णयमा भनिएको छ, 'आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता विद्युत महसुल भुक्तानी नगरेमा नियमानुसार पुनः बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी हाललाई उद्योगीहरूको काटिएको लाइन जोड्ने ।'
प्रतिक्रिया