काठमाडौँ - सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले गत आर्थिक वर्षमा पर्साबाट रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिल नभएका र भन्सार छलीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख राधेश्याम धिमालले आव २०७९\८० को तुलनामा आव २०८०\८१ मा नौ करोड रु ८९ लाख ३७ हजार तीन सय ८२ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताए ।
'भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौं,' उनले भने, 'बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौं । सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ ।' सशस्त्र प्रहरी बल पर्साले आव २०८०\८१ मा भन्सार छली गरेर भित्रिएका रु १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरको अवैध समान वीरगन्ज भन्सार कार्यालयलाई बुझाएको छ ।
सोही अवधिमा बिलबीजक नभएका रु १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९\८० भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो ।
प्रतिक्रिया