काठमाडौँ - नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले ‘नेशनल वेष्ट प्रिजेन्टेड एनुअल रिर्पोट अर्वाड २०२३’ मा प्रदान गर्ने विभिन्न विधाहरूमध्ये ‘पावर अफ इनर्जी’ क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड ‘गोल्ड अर्वाड’ बाट सम्मानित भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आर्थिक वर्ष २०७९\८० (२०२२\२३) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो । मिति २०८१ श्रावण ५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका माननीय उपप्रधान तथा अर्थ मन्त्री श्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका थिए ।
यस अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ । कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरूबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६३,००० ग्राहकहरूलाई विद्युत् वितरण गरी आएको छ ।
हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरूमा कम्पनीको लगानी रहेको छ । निर्माणको चरणमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा कम्पनीको लगानी रहेको छ भने पूर्ब निर्माणको चरणमा रहेका मर्स्याङ्दी बेसिन स्थित करिब ६०० मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजनाहरू कम्पनीको लगानी रहेको र ७.८ मेगावाट क्षमताको चिनोखोला जलविद्युत आयोजना निर्माण गर्ने योजना रहेको छ ।
प्रतिक्रिया