चार महिनामै अर्थ सचिव मरासिनीको सरुवा, सचिवमा घिमिरेकाे बढुवा, अरू काे कहाँ पुगे ?

सोमबार, १४ साउन २०८१, २१ : २५

काठमाडाैं- अर्थमन्त्री वर्षमान पुनले पुन अर्थ सचिव बनाएका मधु मरासिनीलाई  हटाएर अर्थमन्त्री विष्णु पौडेलले रामप्रसाद घिमिरे अर्थसचिवमा बढुवा गरेका छन् ।

मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै सोमबारको मन्त्रिपरिषदको वैठकले घिमिरेलाई अर्थ सचिव बनाएको हो ।  अर्थकै अर्को सचिव पद राजस्वमा दिनेश घिमिरे आएका छन् । घिमिरे यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए । अर्थ मन्त्रालयमा अर्थसचिवलाई सिनियर र राजस्व सचिवलाई जुनियर मानिन्छ ।

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई ल्याइएको छ । यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा पुग्दा रक्षा मन्त्रालयका सचिव किरण राज शर्मालाई वित्त आयोगमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई ऊर्जा मन्त्रालय सरुवा गरिएको छ । जल तथा ऊर्जा आयोगका सचिव केशव कुमार शर्मा बिडारीकोलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तानिएको छ । जल तथा ऊर्जा आयोगको सचिवमा प्रमिला बज्रचार्यलाई सरुवा गरिएको छ ।

सोमबार, १४ साउन २०८१, २१ : २५

प्रतिक्रिया