काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सरकारसँग विपद् व्यवस्थापनका लागि जनशक्ति र सामग्री दुवै अभाव रहेको स्विकारेका छन्।
सोमवार सांसद डा. तोसिमा कार्कीले पेश गरेको ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा स्वीकार गरेका हुन्। मन्त्री लेखकले विपद्मा राहत र उद्धारका लागि पर्याप्त जनशक्ति पनि नभएको बताए। उनले विपद्का लागि थप जनशक्ति र सामग्रीको व्यवस्था गर्ने काममा सरकार गम्भीरतापूर्वक लागिपरेको बताए।
चालू मनसुन अवधिका लागि नेपाली सेनाको १० हजार ८४७, नेपाल प्रहरीको १० हजार ५८५, सशस्त्र प्रहरी बल, नेपालको ९ हजार ९२४ जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको उनले बताए। गृहमन्त्री लेखकले विपद् व्यवस्थापनका लागि सरकारले स्थानीय तहसम्म परिचालन हुने गरी जोखिम न्यूनीकरणको उपाय अवलम्बन गरेको बताए।मन्त्री लेखकले भने‚ ‘हामीसँग विपदको उद्धारलगायतका कामको निम्ति आवश्यक इक्वीपमेण्ट सबै छैन। यसको थप व्यवस्थापन गर्न आवश्यक छ। जनशक्ति पनि पर्याप्त छैन। त्यसलाई थप दक्ष बनाएर थप तालिम व्यवस्था गरेर त्यसलाई अझै गतिशील बनाउन जरुरी छ।’
मन्त्री लेखकले विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति निर्माणमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको बताए।
प्रतिक्रिया