बासी खाना बेच्दा दुई लाख जरिवाना

मंगलबार, १५ साउन २०८१, १४ : ३७

 काठमाडौं– लामो रुटका यात्रुहरुलाई राजमार्गका होटलमा बासी र गुणस्तरहीन खाना खुवाउने गरेका समाचारहरु बेलाखतमा आइरहन्थे । खासगरी बस वालाहरुले होटलसित कमिशनमा बाटोका होटलहरुमा खाना ख्वाउँदै आएका छन् । त्यसकारण होटलले पनि स्टाफहरुलाई राम्रो खाना दिने र यात्रुहरुलाई कमसल खाना दिने गरेका छन् । प्राय : त्यस्ता होटलहरु बजारबाट अलि टाढै हुन्छन् जसले गर्दा यात्रुहरु गाडीवालाले तोकेकै होटलमा खान बाध्य हुन्छन् । त्यसैले होटलको मनोमानी पनि बढ्दैआएको  पाइन्छ । 
चलाख यात्रु र नियामक निकायले चाहेमा त्यस्तो अपराध गर्ने होटलहरु जुनसुकै बेला पनि कारबाही पर्छन भन्ने धादिङको घटनाले पुष्टि गरेको छ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ ।

अनुगमनको क्रममा बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिएका छन् ।

 आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका सहायक प्रमुख जिल्ला अधिकारीले बताए ।  त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो । “फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ”, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकारसमेत गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो ।”

मंगलबार, १५ साउन २०८१, १४ : ३७

प्रतिक्रिया