नेपालमै पहिलो पटक स्नातक तहमा उड्डयन व्यवस्थापन पढाई हुने

मंगलबार, १५ साउन २०८१, १६ : ५२

काठमाडौँ - काभ्रेको बनेपामा नेपालमै पहिलो पटक स्नातक तहमा "उड्डयन व्यवस्थापन" सम्बन्धी पढाई हुने भएको छ ।  सिम्रिक भेंचरले केयू र सिद्धार्थ वनस्थलीको साझेदारीमा बनेपामा स्नातक तहमा "उड्डयन व्यवस्थापन" पढाई थालेको हो । 

केयुका उपकुलपति प्रा.डा. भोला थापाले उड्डयन व्यवस्थापन पठनपाठन हुने कलेज उद्घाटन गरेका हुन् ।  यो अध्ययन मार्फत नेपालको हवाई क्षेत्र सुरक्षित हुने बताए । साथै उनले यही विषय अध्ययनका लागि बिदेसिनु पर्ने बाध्यता समेत हट्ने बताए ।  उड्डयन व्यवस्थापनको प्रस्तावित  चार वर्षको स्नातक कार्यक्रम हो । यसले विद्यार्थीहरूलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान प्रदान गर्ने सिम्रिक भेंचरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए ।

यो डिग्री कार्यक्रमले उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयर लाइन अपरेसनहरू, उड्डयन वित्त र अर्थशास्त्र, उड्डयन मार्केटिङ पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थापन सहित विषयहरूको विस्तृत दायरालाई समेट्ने  छ । पाठ्यक्रम विद्यार्थीहरूको आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू विकास गर्न डिजाइन गरिएको छ, जबकि विमान सम्बन्धित गतिविधिहरू प्रबन्ध गर्न व्यावहारिक प्रशिक्षण प्रदान गर्नेछ । विद्यार्थीहरूले उड्डयन प्रविधिहरू, उपकरणहरू र प्रणालीहरू सहित उड्डयनका विभिन्न पक्षहरूबारे सिक्नेछन् । विद्यार्थीहरूले जटिल परिस्थितिहरू कसरी व्यवस्थापन गर्ने, दबाबमा काम गर्ने र विभिन्न सरोकारवालाहरूसँग प्रभावकारी रूपमा कुराकानी गर्ने तरिका पनि सिक्न सकिन्छ ।

विद्यार्थीहरूलाई उड्डयन सम्बन्धी गतिविधिहरू प्रभावकारी रूपमा व्यवस्थापन र सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र प्रशिक्षण प्रदान गर्नु रहेको क्याप्टेन थापाले बताए। यो कार्यक्रम मार्फत नव प्रवर्तनशील चुनौतीहरूलाई सम्बोधन गर्न माहिर र विश्वव्यापी रूपमा उड्डयन उद्योगलाई अगाडि बढाउन प्रतिबद्ध विद्यार्थीहरूलाई शिक्षा दिइने क्याप्टेन थापाले बताए । कार्यक्रममा  काठमाडौँ विश्वविद्यालयका रजिष्टार प्रा.डा. अच्युत वाग्ले , काठमाडौँ विश्वविद्यालयका स्कुल अफ म्यानेजमेण्टका डिन प्रा.डा.  विजयी केसीले भनाई राखेका थिए  । 

पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक प्रदिप राज पाण्डेले नेपालमा उड्डयन क्षेत्रमा निजी क्षेत्रको लगानी ठुलो रहेको भन्दै "ुउड्डयन व्यवस्थापनको पढाईले अझ बढी ब्यवसायीकता हुने बताए । सिद्धार्थ बन्थलीका अध्यक्ष पुष्पराम केसीले यो पढाई नेपालकै इतिहासमा पहिलो रहेको र विद्यार्थीहरूका निकै सहज हुने बताए ।

मंगलबार, १५ साउन २०८१, १६ : ५२

प्रतिक्रिया