काठमाडौँ - युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ।
आगामी साउन २८ गते हुने अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागि मन्त्री चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो। युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित विभिन्न सरकारी निकाय, सरोकारवाला, सङ्घसंस्था र प्रतिनिधिहरूको उपस्थितिमा भएको वृहत् भेलाबाट राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका मन्त्री चौधरीका नेतृत्वमा समिति गठन भएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन्।
चौधरी नेतृत्वको समितिमा परिषद्का उपाध्यक्ष, मन्त्रालय सम्बद्ध निकायका कार्यकारी प्रमुखहरू, विभिन्न सङ्घीय मन्त्रालयका प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घको नेपाल स्थित कार्यालयका प्रतिनिधि , प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सबै प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवा केन्द्रित सङ्घसंस्थाका प्रतिनिधि, परिषद् सदस्य , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधिलगायत रहनेछन्।
यस्तै विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका प्रतिनिधि, परिषद्सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र परिषद्का सबै जिल्ला युवा समितिका अध्यक्षसमेत समितिमा रहेका छन्।
१९९८ अगस्ट ८- १२ तारिखमा संयुक्त राष्ट्र सङ्घको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो। सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो। सन् १९९९ को डिसेम्बर १७ मा बसेको राष्ट्र सङ्घको ५४औ महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० वाट हरेक वर्षको अगस्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउन थालियो।
अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा श्रावण २८ गते आयोजनामा हुने मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले बताए। उक्त दिन बिहान प्रभातफेरी समेत गरिने बस्नेतले बताए। कार्यकारी उपाध्यक्ष बस्नेतले साताव्यापी रुपमा दिवस मनाइने जानकारी दिए। उनका अनुसार दिवसको अवसरमा युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपणलगायतका कार्यक्रम गरिनेछ।
प्रतिक्रिया