‘अस्ट्रेलिया–नेपाल इकोनोमिक समिट’ आयोजना हुँदै

मंगलबार, २२ साउन २०८१, १६ : ३०

काठमाडौँ - अस्ट्रेलिया– नेपाल चेम्बर अफ कमर्सले ‘अस्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’ आयोजना गर्ने भएको छ । 

डिसेम्बर २०२४ मा आयोजना हुने सम्मेलनले नेपालमा लगानीको अवसर र त्यसका प्रक्रियाबारे अस्ट्रेलियन लगानीकर्तालाई जानकारी गराइनेछ । आयोजक संस्था अस्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलका अनुसार नेपालमा विदेशी लगानीको अवसर र विदेशी लगानी भित्र्याउन हाल देखिएका समस्या समाधानका उपाय पहिल्याउने विषयमा सम्मेलनमा बृहत् छलफल हुनेछ । 

सिड्नीमा आयोजना हुने सम्मेलनमा अस्ट्रेलियन उद्योगी व्यवसायीहरूका माझमा नेपालमा लगानीको अवसर, लगानीका क्षेत्र र प्रतिफलका सम्बन्धमा छलफल हुने अध्यक्ष खरेलको भनाइ छ । उनका अनुसार सम्मेलनमा अस्ट्रेलियाका अर्थमन्त्री र त्यहाँको केन्द्रीय बैङ्कका प्रतिनिधिसहित नेपालबाट अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गभर्नर सहभागी हुनेछन् । नेपालबाट निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित गर्न उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलाई औपचारिक रूपमा निमन्त्रणा पठाइने अध्यक्ष खरेलले बिजनेस पानालाई जानकारी दिएका छन् । सँगै, लगानी बोर्डबाट समेत प्रतिनिधित्व हुने आयोजकको भनाइ छ ।

‘समग्रमा दुई देशका उद्योगी व्यवसायीसहित दुई देशका सरकारका अधिकारीहरूसमेत सहभागी गराउने र नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने विषयमा सम्मेलनमा केन्द्रित हुनेछ’ अध्यक्ष खरेलको भनाइ छ, ‘दुई देशकै उद्योग वाणिज्य क्षेत्रका व्यक्तित्वहरूबिच बृहत् छलफल हुनेछ ।’ उनका अनुसार सम्मेलनकै क्रममा आयोजकले एउटा अस्ट्रेलियाली स्टार्ट अप कम्पनीलाई सम्मान पनि गर्नेछ ।

 

मंगलबार, २२ साउन २०८१, १६ : ३०

प्रतिक्रिया