महीप्रति उपभोक्ताहरुको आकर्षण बढ्यो

महीको बिक्री दैनिक साढे २ लाख लिटर पुग्दै

बुधबार, २३ साउन २०८१, १० : २३

काठमाडौँ–बहुराष्ट्रिय कम्पनिद्वारा उत्पादित कोकाकोला लगायतका कोल्ड डिक्सले मानव स्वास्थ्यमा नकारात्मक असर पारेको यथार्थलाई भुलेर पनि उपभोक्ताहरुले यी पेय पदार्थ पिउन छोडिरहेका छैनन् । तर बिस्तारै उपभोत्ताहरुमा आफ्नो स्वास्थ्यप्रति चेतना जागृत हुन थालेको छ । त्यही चेतनाको कारण अहिले नेपालमा दैनिक साढे २ लाख लिटर मही बिक्री हुने अवस्था सिर्जना भएको छ । सो कुरा राष्ट्रिय डेरी एशोसीएसनले जनाएको छ । बजारमा महीको मूल्य प्रति लिटर ७० देखि ८० रुपैयाँसम्म छ । यस हिसाबले औसतमा दैनिक झण्डै १९ करोडको महीको व्यापार हुने गरेको हो । तर, अझै पनि नेपालमा महीको खपत भने उत्पादनअनुसार हुन सकेको छैन । हाल नेपालमा दैनिक १० देखि १५ लाख लिटरसम्म मही उत्पादन गर्न सकिने भए पनि त्यसको २० प्रतिशत मात्र खपत भइरहेको एसोसियसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए ।

पोषणविद्महरुले महीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकाले कब्जियत हुनबाट जोगाउनुका साथै मुटुको रोग, उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने बताउँछन् । महीको नियमित सेवनले स्मरण शक्ति पनि तेजिलो हुने पोषणविद् डा. विनिता पन्तले जानकारी दिइन् । अहिले महीलाई ७ दिनसम्म प्याकिङ गरेर राख्ने प्रविधि रहेकोमा बढी समयसम्म राख्न सकिने प्रविधिको खोजी गरिरहेको डेरी एशोसिएसनले जनाएको छ । ब्रान्डिङ र बजारमा ध्यान दिन सके अबको दुई वर्ष भित्रमा नै केमिकलयुक्त पेय पदार्थलाई विस्थापित गर्दै पोषणयुक्त महीको खपत पुर्ण क्षमतामा बढाउन सकिने उत्पादकहरू बताउँछन् ।
 

बुधबार, २३ साउन २०८१, १० : २३

प्रतिक्रिया