त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले गरे हस्ताक्षर

बुधबार, २३ साउन २०८१, १२ : १४

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले हस्ताक्षर गरेका हुन् ।

हिजो (मङ्गलवार) उपकुलपति प्राडा केशरजंग बराल लगायतका त्रिविका पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीको हस्ताक्षर गराएका हुन् ।

त्रिविका रजिष्ट्रार प्राडा केदार रिजालले मङ्गलवार प्रधानमन्त्रीले बजेटसँगै नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको बताए । यसअघि त्रिविका अधिकारीहरूले ओलीले नीति तथा कार्यक्रम रोकेको बताएका थिए । साउन १५ गते त्रिविको सिनेट बसेको थियो । उक्त सिनेटमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो । तर, कार्यव्यस्तता देखाएर ओली नीति तथा कार्यक्रममा छलफल नै नगरी निस्किएका थिए ।

आफ्नो कार्यव्यस्तता देखाउँदै ओलीले नीति तथा कार्यक्रम पढ्न रोकेका थिए । त्यसपछि उनले शिक्षामन्त्री विद्या भट्टराईलाई अध्यक्षताको जिम्मेवारी दिएर उनी बाहिरिएका थिए । शिक्षामन्त्रीको अध्यक्षतामा भएको छलफलपछि नीति तथा कार्यक्रम समेत पारित भएको थियो । 

सिनेट बैठकबारे बाहिर गलत हल्ला फैलाइएको उनको भनाइ छ । ‘सिनेटमा हाम्रो दुईवटा मात्रै एजेण्डा थिए । एउटा त्रिविको ६२ औँ ग्रेस लिष्ट पारित गर्ने । त्यसपछि नीति तथा कार्यक्रम बजेट पारित गर्ने । तर, गलत बुझाइका कारण गलत सन्देश गयो । बजेट र नीति तथा कार्यक्रम उस्तै हो । त्यो पास नहुने कुरै भएन,’ रजिष्ट्रार रिजालले भने ।

विश्वविद्यालयका नियम, विनियम संशोधन लगायतका विषयमा छलफल अर्को बैठकबाट गर्ने भन्ने कुरा रहेको उनको भनाइ छ । तर, प्रधानमन्त्री र विश्वविद्यालयका पदाधिकारीहरूबिच दूरी कायम गराउने खालको दुष्प्रचार भएको बताए ।

सिनेटबाट स्नातक, स्नातकोत्तर तह लगायतका विभिन्न तहका ७३ हजार ९ सय ९५ विद्यार्थीको ग्रेस लिष्ट पास भएको थियो ।

सिनेटमा प्रधानमन्त्री ओलीले उपकुलपति प्राडा बराललाई नीति तथा कार्यक्रम पेस गर्न खोज्दा रोकेका थिए । नीति तथा कार्यक्रमका विषयमा आपत्ति जनाउँदै ओलीले भनेका थिए, ‘म आएकै बैठकमा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री हुनुहुँदैन भन्ने प्रस्ताव किन राखियो रु प्रधानमन्त्री आएर सुन्दा नै सरकारमा छिटो पुग्ला कि भनेर ?’

बुधबार, २३ साउन २०८१, १२ : १४

प्रतिक्रिया