उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच भेटवार्ता

विहीबार, २४ साउन २०८१, १२ : १५

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पियुष गोयलबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । 

भेटका क्रममा उनीहरूबिच द्विपक्षीय व्यापार एवं आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने विषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । चामल तथा चिनीलगायतका खाद्य सामग्री नेपाल-भारत सिमानामै पाइने मूल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गर्दै मन्त्री भण्डारीले उद्योग एवं व्यापारका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

उनीहरूबिच सचिव स्तरीय बैठक राख्ने विषयमा समेत छलफल भएको र दुई साताभित्र उक्त बैठक आयोजना गर्ने सहमति भएको छ । नेपालबाट सिमेन्ट, जुत्ता, प्लाइउड निर्यात गर्दा व्यवसायीले खेप्नुपरेको कागजी प्रक्रियाको अवरोधलाई हटाउने विषयमा पनि मन्त्री भण्डारीले भारत सरकारको ध्यानाकर्षण गराएका थिए। भारतका वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपाल-भारतबीचको व्यापारमा देखिएका समस्या समाधान गर्न आफ्ना कर्मचारीहरूलाई निर्देशन दिएको जानकारी दिए। 

त्यसै गरी आजै मन्त्री भण्डारी र भारतका पेट्रोलियम मन्त्री हरिजित सिंह पुरीबीच पनि भेटवार्ता भएको थियो। मन्त्रिस्तरीय बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन मन्त्री भण्डारी सोमबार भारत गएका हुन्। सम्मेलन आजसम्म चल्नेछ।

विहीबार, २४ साउन २०८१, १२ : १५

प्रतिक्रिया