छोइनसक्नुको महँगीले सास्ति भाेग्दै उपभाेक्ता, सरकारकाे ध्यान कता ?

बुधबार, १९ भदौ २०८१, ०९ : १३

काठमाडाैं - बालाजु बस्ने शिव माया तामाङ अचेल तरकारीको मूल्य बढेर हैरान छिन् । छोरीलाई दर खुवाउन तरकारी बजार छिरेकी उनी पसलेसँग भन्दै थिइन्, ‘के विधि मूल्य बढेको यो, तरकारीको खान अब त  नसकिने भयाे ?’ उनलाई अघिल्लो वर्षभन्दा योवर्ष तरकारीको मूल्य अत्याधिक बढेको अनुभूति भएको छ । यसरी त कसरी सक्नु,चाडपर्व आउनु नै नहुने ह्वात्तै बढ्छ ,किन यस्तो हुन्छ ।’ शिव माया एउटा प्रतिनिधिमूलुक पात्र मात्र हो । यो हरेक नेपालीको दैनिकीसँग जोडिएको हुँदा भोग्न बाध्य छन् । सरकारले मूल्य नियन्त्रण कम गर्न कुनै चासो देखाएको छैन । देशमा दूई तिहाईको सरकार छ तर, जनताले अनुभूती गर्न सम्म पाएका छैनन् । सरकारले पनि मूल्य नियन्त्रण गर्नका लागि कुनै ठाेस निति अघि  सारेकाे छैन ।
 

राष्ट्र बैंकको तथ्यांकले महँगी घटेको तथ्यांक पेश गरे पनि व्यवहारमा मूल्यले सामान्य जीवन गुजरा गर्नेका लागि कहाली लाग्दो बनाएको हो । खाद्यन्न, दाल, चामल, गेडागुडी, हरियो तरकारी लगायतको मूल्य पछिल्लो समय अकासिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधवप्रसाद तिमिल्सिनाले बताए । उनले भने,‘ चार्डपर्व नजिकिएसँगै कालो बजारी बढ्ने र चाडपर्वलाई देखाउँदै मूल्य बढाउनेहुँदा मूल्यले सीमा नाघेको छ ।’ अनुगमन गर्नुपर्ने निकायले समेत अनुगमन नगर्दा यो समयमा कालोबजारी बढेको उनको भनाई छ ।  

सुस्त अनुगमन

वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले अन्य समयमा भन्दा चाडपर्वको समयमा हुन सक्ने कालो बजारीलाई  नियन्त्रण गर्न ८ देखि ९ टोलि खटाउने गरेको दाबी गर्ने गरे पनि प्रर्याप्त अनुगमन हुन सकेको छैन । कालोबजारी गर्नेलाई सामान्य निर्देशन मात्र दिएको देखिन्छ । अहिले विभागले प्रत्येक  टोलिमा २, र ३ जनाको दरमा अनुगमनमो पठाउने गरेको छ । तर, यो समयमा यतिले मात्र प्रर्याप्त नहुने उपभोक्ता अधिकारवादी प्रेमलाल महर्जन बताउँछन् । उनले भने,‘ यो समय भनेको दैनिक उपभोग्य बस्तुमाथि हुन सक्ने मुख्य चलखेलको यतिबेला पनि प्रर्याप्त अनुगमन नगरे कहिले गर्ने ।’

हरियो तरकारी, खाद्यन्नकाे मूल्य उच्च

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ ७५ पैसा रहेको छ । प्याज सुकेको १२७ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली ११५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी २७ रुपैयाँ ६७ पैसा र ठूलो नेपाली गोलभेँडा ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

यही तरकारीको मूल्य गतवर्ष यही आजकै मितिमा रातो आलुको मूल्य ५६ प्रतिकिलो रहेको थियो । त्यस्तै, अघिल्लो वर्षको तुलनामा सुकेको प्याजको मूल्य दोब्बर भन्दा बढीले बढेको छ । अघिल्लो वर्ष आजकै दिन ७४ रुपैयाँ प्रतिकिलो रहेको थियो । आज सुकेको प्याजको मूल्य १२७ पुगेको छ ।त्यस्तै स्थानीय काउली  अघिल्लो वर्ष ९६ रुपैयाँ प्रतिकिलो रहेको थियो । यसले पनि देखाउँछ कि एकवर्षकै बीचमा महँगीले सीमा नाघेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०\०८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।

बुधबार, १९ भदौ २०८१, ०९ : १३

प्रतिक्रिया