सदस्यता नवीकरण नहुँदा बैंकमा भएको सुन नपाएको गुनासो

आइतबार, ३० भदौ २०८१, १३ : ००

काठमाडौँ । बाणिज्य बैंकहरुले आयात गरेका सुन पर्याप्त बिक्री हुन नसकेको नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । तर, केही व्यवसायीले भने चाहेर पनि आवश्यक सुन पाउन नसकेको गुनासो गरेका छन् । 

सुनचाँदी व्यवसायीहरुको संगठनभित्र नै मनपरी चल्दा सम्बन्धितले आवश्यक सुन पाउन नसकेका हुन् । सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसयी संघले आफ्नो सदस्यता नवीकरण नगरिदिएकाले समस्या उत्पन्न भएको बताए । श्री रिद्धि सिद्धि ज्वेलर्सका उनले आफूले सबै प्रक्रिया पूरा गरेर नवीकरणका लागि आवेदन दिएपनि विभिन्न बहानामा नवीकरण नगरिदिएको बताए ।  
राष्ट्र बैंकको सुन आयात तथा वितरणसम्बन्धी कार्यविधिअनुसार सम्बन्धित संघले सिफारिस गरेको पत्रअनुसारमात्रै व्यवसायीले सुन पाउँछन् । तर, आफ्नो सदस्यता नवीकरण नै नभएका कारण सुन नै पाउन नसकिरहेको उनले बताए । यस्तै सिफारिस नचाहिने सुन पनि पाउन नसकेको उनको गुनासो छ । 

गुप्ताको नेतृत्वमा देशभर सुनका गहना गरिद गर्दा जर्ती नलिने अभियान चलिरहेको छ । सोही अभियान सञ्चालन गरेकै कारण संस्थाभित्रका सिन्डिकेटधारीहरुको योजनामा आफूलाई समस्यामा पार्ने काम भएको उनले बताए । 

‘मैले जर्ती नलिने अभियान सञ्चालन गरेकै कारण सिन्डिकेटधारीहरुले सदस्यता समेत दिन जालझेल गरिरहेका छन्’, उनले भने, ‘यस्तो अत्याचार हुँदा सरकार मुकदर्शक छ । सुन नदिने हो भने पसल नै बन्द गर्नुपर्ने अस्था छ।’
उनले आफूसहित कैयन व्यवसायीले सुन पाउन नसकेको उल्लेख गर्दै यसविरुद्ध अब अदालतको ढोका ढकढक्याउन लागेको बताए । ‘यसबारे म रिट लिएर सर्वोच्च अदालत जान्छु । अदालतले राहत दिने विश्वास छ’, उनले भने ।  यसअघि पनि यही विषयमा उच्च अदालत पाटन गएपनि फैसला आउन ढिलाइ भइरहेको उल्लेख गर्दै उनले अब सुन पाउनका लागि अन्तरिम आदेश लिएर सर्वोच्च जान लागेको बताए । 
उनले नेपाल राष्ट्र बैंकको कार्यविधिमा रहेको गलत व्यवस्था सच्याउन जरुरी रहेको भन्दै बेथितिबारे सबै पक्षबाट खबरदारी जरुरी रहेको बताए । 

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी गरेको एकीकृत परिपत्रमा सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा यससम्बन्धी आवश्यक व्यवस्था गरिएको छ । जसमा सम्बन्धित संघको सिफारिसमा सुन पाउने तर, वाणिज्य बैंकले आयात गरेको सुन १५ दिनसम्म पनि सम्बन्धित संघबाट सदस्यहरूलाई सिफारिस हुन नसकी बिक्री हुन नसकेको अवस्थामा वाणिज्य बैंकहरूले कार्यविधि अन्तर्गत योग्यता पुगेका सुन व्यवसायीलाई निवेदनको क्रमानुसार सोझै बिक्री गर्न सक्ने व्यवस्था छ । १५ दिनसम्म नबिनेको सुन सिधै उठाउन पाउने भएपनि त्यसरी समेत अहिले नदिइएको उनले बताए । 

आइतबार, ३० भदौ २०८१, १३ : ००

प्रतिक्रिया