काठमाडौं- पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि आन्दोलित बनेको रास्वपाले रविको गिरफ्तारीलाई प्रतिशोधपूर्ण बताउँदै आएको छ।
सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान गर्न प्रहरीले कास्की पुर्याएपछि रास्वपाको आन्दोलन पोखरामा जारी रहेको थियो। आज (मंगलबार) लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको अनुसन्धानमा त्यता लगिएपछि रास्वपाको आन्दोलन रुपन्देही केन्द्रित भएको छ।
पोखरामा जारी आन्दोलनमा कार्यकर्ताहरुलाई सम्बोधन गर्न आइतबार पुगेका रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले ज्युँदो रहँदासम्म लामिछाने नै पार्टी सभापति रहने बताएका थिए। उपसभापति अर्यालले हिरासतमा या बाहिर जहाँ रहे पनि जिवीत रहुञ्जेल जिवीत रहँदासम्म पार्टी सभापति लामिछाने नै हुने उनको दाबी थियो।
कार्यवाहक सभापति गौण भएको प्रष्ट्याउँदै अर्यालले रविलाई आजीवन अध्यक्ष बनाउने उनको उद्घोष थियो। पछिल्लो समय रविको गिरफ्तारी पछि रास्वपामा उपसभापतिद्वय अर्याल र स्वर्णिम वाग्लेबीच चलेको टसलको उपज पनि रविलाई निर्विकल्प देखाउन यस्तो अभिव्यक्ति दिएको हुनसक्छ। रास्वपा निश्चित कार्यक्रमिक उद्देश्यले सञ्चालित पार्टी भन्दा पनि एउटा व्यक्तिपूजक क्लबको रुपमा रहेको र रविकै आवरणमा मात्रै पार्टीको अस्तित्व कायम रहने उनको अभिव्यक्तिबाट प्रष्ट हुन्छ।
त्यसो त यस पार्टीको उदय नै रविको बाह्य लोकप्रियताकै बलमा भएको हो। पार्टी स्थापनाको आधार रविको सार्वजनिक अनुहार नै हो । बाहिरी आवरणमा उनले प्राप्त गरेको जनमतकै बलमा रास्वपा गठन गरिएको हो। रवि सञ्चार क्षेत्रमा हुँदाको लोकप्रियता र सोही कारणले आर्जेको सार्वजनिक पहिचान नै रास्वपा गठनको आधार स्तम्भ हो।
सायद यही बुझेर नै उपसभापति अर्यालले रवि आजीवन पार्टी सभापति हुने घोषणा गरेको हुनसक्छ । उनले रविकै उपज गठित पार्टी उनकै लोकप्रियताकै बलमा खडा भएको बुझेरै उनीबिना पार्टीको अस्तित्व नै नरहने भयले पनि अर्यालले त्यसो भनेको हुनसक्ने आंकलन गरिएको छ।
सञ्चार कर्ममा हुँदा कतिपय जनतासँग प्रत्यक्ष जोडिएका विषय सार्वजनिक रुपमा उठाउँदै वैदेशिक रोजगारीमा पुगेर बिचल्लीमा परेका नेपालीलाई उद्धार समेत लामिछानेले गरेका थिए। केही सामाजिक काम र आक्रामक टेलिभिजन प्रस्तुतीले जनताको मन जित्न सफल भएका उनी राजनीतिमा प्रवेश गरेसँगै छोटो समयमै २१ सिटसहित चौथो पार्टी बनाउन सफल भएका थिए।
तर, टेलिभिजिन प्रस्तोताका रुपमा रहँदा उनले प्रमुख दलका नेताहरुमाथि उठाइएको तिनै प्रश्न आज उनीमाथि तेर्सिएको छ।त्यसैले सार्वजनिक सञ्चार माध्यमबाट टाढै रहेका उनी अहिले आफू प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनका सञ्चालक जिबी राईले सहकारीमार्फत ल्याएको रकममा उनी पनि मुछिएका छन्।
देशका विभिन्न सहकारीको रकम ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेको गोर्खा मिडियामा आएको र त्यसको प्रमुख हिस्सेदार लामिछाने पनि भएकाले संसदीय छानबिन समितिले पनि उनलाई कारबाही सिफारिस गरेको थियो।
गत कात्तिक ३ गते पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा पनि जोडिएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धान पछि उनलाई सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा त्यता पुर्याइएको छ।
उनै लामिछाने नै सदैब सभापति भइरहने उपसभापति अर्यालको दाबीले रास्वपा रविकै आवरणमा उनले पाएको तत्कालीन लोकप्रियताकै उपज उदय भएको र उनी बेगर अरुको पार्टी सञ्चालन गर्ने ल्याकत नरहेको निरीहता उनको अभिव्यक्तिबाट प्रकट हुन्छ।
पछिल्लो समय आफूसँगको अन्तरविरोध अर्का उपसभापति वाग्लेले चर्काएपछि रास्वपामा रविमात्रै निर्विकल्प भएको देखाउन पनि यो रणनीति तय गरिएको हुनसक्छ। रविको तुलनामा अन्य सबै पार्टीमा सहयोगीका रुपमा मात्रै सीमित रहेको भन्दै वाग्लेलाई चेतावनीस्वरुप उक्त अभिव्यक्ति दिएको पनि हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ।
जीवन्त पार्टीमा एक अमुक व्यक्तिलाई नै निर्विकल्प ठान्ने प्रवृत्ति आफैंमा व्यक्तिपूजक र अन्य सबै असक्षम रहेको सार्वजनिक स्वीकारोक्ति हो। लामिछाने रास्वपाको आजीवन सभापति हुने उपसभापति अर्यालको सार्वजनिक उद्घोषसँगै यो पार्टीको उदय र पतन दुबै लामिछानेसँगै जोडिएको प्रष्टै हुन्छ।
हिजो पुराना पार्टीका नेताहरुलाई ‘नानीका बा’को आक्षेप लगाएर युवालाई नेतृत्व दिन सुझाउँदै टेलिभजिनबाट आक्रामकरुपमा कुर्लने लामिछाने आफ्नो पार्टीमा भने आजीवन नेतृत्वमै रहने जनाउ आफ्ना विश्वासपात्र अर्यालमार्फत हिरासतमा रहँदा पनि दिएका छन्।
यो पनि पढ्नुस्
रवि पक्राउपछि रास्वपामा दुई गुट सक्रिय, शक्ति हत्याउने दाउमा डिपी र स्वर्णिम
प्रतिक्रिया