काठमाडौं- गत आम निर्वाचनमा कांग्रेसका गगन थापा पक्षीय उम्मेदवारलाई जिताउन भूमिका खेलेको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)माथि यसपाली फेरि माओवादीसँग अघोषित सहकार्य गरेको चर्चा चलेको छ ।
यही आइतबार देशभरका स्थानीय तहका रिक्त ४२ स्थानमा सम्पन्न उपनिर्वाचनमा अधिकांश स्थानमा माओवादी र रास्वपाले उम्मेदवारी दिएका थिए । दुई स्थानमा भने एक अर्कालाई सघाउने गरी उम्मेदवारी नदिएको चर्चा चुलिएको छ । यद्यपि आधिकारिक रुपमा भने दुबै दलले यसबारेमा मुख खोलेका छैनन् ।
काठमाडौं महानगर अन्तर्गत वडा नं १६ मा रास्वपाले उम्मेदवारी दिएपछि त्यहाँ माओवादी केन्द्रले आफ्नो उम्मेदवारी नदिएर सघाएको आरोप लागेको छ । यस वडामा जितेको रास्वपाले देशका अन्य विभिन्न स्थानमा उम्मेदवारी दिए पनि ओखलढुंगाका एक वडामा बाहेक अन्यत्र जमानत समेत जोगाउन सकेन ।
उता, कीर्तिपुरमा पनि सुरुमा उम्मेदवारी दिने बताएको रास्वपाले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो । तर उम्मेदवार भने किटान गर्न सकेको थिएन । त्यहाँ ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
यता, काठमाडौं १६ मा रास्वपाकौ उम्मेदवार रोजिना श्रेष्ठ विजयी भए पनि कीर्तिपुरमा भने माओवादीका मेयर उम्मेदवार डा.शिवशरण महर्जनले पराजय व्यहोर्न पुगे ।
यी दुई दलबीच भएको अघोषित सहकार्यको पराकम्पनले दुबै पार्टीमा असन्तुष्टि बढाएको छ । संस्थागत निर्णय बेगर दुबै दलले एक अर्काका उम्मेदवारलाई जिताउन केही स्थानमा अघोषित सहकार्य गरे पछि रास्वपा र माओवादीभित्र किचलो बढेको हो ।
औपचारिकरुपमा घोषणा नगरिए पनि अघोषित सहकार्य जस्तै देखिएको माओवादी केन्द्रका एक नेता बताउँछन् । ‘काठमाडौं १६ मा पार्टीले उम्मेदवारी नदिँदा र कीर्तिपुरमा माओवादीको मत बढ्दा आशंका गर्ने ठाउँ छ’, ती नेताले भने ।
काठमाडौं १६मा उम्मेदवारी नदिएको विषयले पार्टीमा असन्तुष्टि बढाएको उनले स्वीकार गरे । यसबारेमा आगामी केन्द्रीय समिति बैठकमा जिज्ञासा राख्ने उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रास्वपासँगको अघोषित सहकार्यको जनाउ दिने गरी चुनावको अघिल्लो दिन नयाँ दलको पक्षमा अभिव्यक्ति दिएका थिए ।
‘जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु।, उनले भनेका थिए’, ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’
उपनिर्वाचनको सम्मुखमा सामाजिक संजालबाट नयाँ दललाई बगैंचामा फूलिरहेका फूलको उपमा दिँदै प्रचण्डले त्यसलाई निमोठेर होइन, फूल्न दिएर पहिचान गर्नुपर्ने बताएका थिए ।
उनले अगाडि भनेका थिए, ‘ बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ। सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’
रास्वपामा पनि अघोषित सहकार्यको पक्ष र विपक्षमा मत देखिएको छ । वैकल्पिक दल भनेर माओवादीसँग अघोषित सहकार्य गरेको भन्दै एक पक्ष यस सहकार्यप्रति असन्तुष्ट रहेको छ ।
प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछाने माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रति पहिल्येदेखि नै उदार रहेका थिए । तर, उपसभापति स्वर्णिम वाग्ले भने माओवादी र प्रचण्डसँग सहकार्य गर्ने पक्षमा थिएनन् ।
रास्वपा निकट स्रोतका अनुसार पछिल्लो माओवादीसँगको अघोषित सहकार्य भने हिरासतमा रहेका सभापति लामिछाने र अर्का उपसभापति डोलप्रसाद अर्याल(डिपी)को सहमतिमा भएको हो ।
पुराना दलको विकल्पमा गठित वैकल्पिक शक्ति भएर उनीहरुसँगै सहकार्य गरेको भन्दै अर्का उपसभापति वाग्ले असन्तुष्ट रहेको रास्वपा स्रोतको दाबी छ।
प्रतिक्रिया