काठमाडौं - एमाले अध्यक्ष समेत रहेका केपी ओलीको क्रेज पहिले जस्तो छैन । ‘आइ लभ यु केपी बा’ भन्ने जमातको आकार पनि अहिले कम भएको छ । बरु कतिपय अवस्थामा सार्वजनिक कार्यक्रममै ओलीको बिरोध हुन थालेको छ । अब राष्ट्रिय राजनीतिमा पनि उनको भूमिका प्रभावकारी बन्ने अवस्था रहेको छैन । उनको कारणले पार्टीको समग्र स्थिति झनै खुम्चिने सम्भावना रहेको एमालेकै नेताहरुले बताउन थालेका छन् । पार्टीको साख कसरी जोगाउने भन्ने चिन्ता बढेकोबेला पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा प्रवेश गरेकीछिन् ।
विद्याको भूमिकालाई लिएर विभन्न अड्कलबाजी सुरु भएको छ । केही मानिसहरु उनी केपीको विकल्पमा पार्टीको नेतृत्व लिने तयारीमा रहेको पनि भन्ने गरेका छन् । उनी स्वयम भने ओलीको असहमतिमा होइन सहमतिमै पार्टीमा जिम्मेवारी लिने बताउने गर्छिन् । विद्या र ओलीको विगत सम्झनेहरु भने उनीहरु सल्लाहमै अघि बढेको बताउँछन् । उनीहरु पार्टी र राज्यको प्रमुख जिम्मेवारीमा नपुग्दै ‘निकट सम्बन्ध’ मा रहेको चर्चा हुने गर्दथ्यो । विद्याले राष्ट्रपति रहँदा पनि ओलीले गरेका सबै प्रकारका सिफारिशहरुलाई तत्काल सदर गर्ने गरेकी थिइन । जसको कारण उनको काफी आलोचना पनि भएको थियो । अध्यादेश ल्याउने र संसद बिघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिश सदर गरेपछि मुलुकको राजनीतिमा नै नयाँ तरङ्ग आएको थियो । ओलीलाई संकटको समयमा साथ दिएकी विद्या अहिले पनि ओलीको इच्छा अनुसार नै सक्रीय राजनीतिमा आएको बताइन्छ । आफू अलोकप्रिय भएपछि विकल्पमा विद्यालाई अगाडि सारेको अनुमान लगाउन कठिन छैन । यसो गर्दा पार्टीसत्ताको रिमोट आफ्नै हातमा रहने र अनुकूलता भयो भने राष्ट्रपति पनि बन्न पाइने ओलीको योजना रहेको एमाले वृत्तमै चर्चा चल्न थालेको छ । दोस्रो पुस्ताका नेताहरुलाई तह लगाउने पनि यो उत्तम उपाय हुनेछ ।
विद्यालाई अगाडि सार्दा स्वतन्त्र र तटस्थ जनमतको समर्थन पनि पाइने र ८४ को निर्वाचनमा बहुमत ल्याउने विश्लेषण हुने गरेको छ । मदन भण्डारीको स्मृतिसभाभन्दा पहिले केपी र विद्याले बालुवाटारमा झण्डै दुई घण्टा वार्तालाप गरेका थिए । त्यसपछि नै विद्याले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन । षडयन्त्रको सिद्धान्तका व्याख्याताहरु यसलाई स्वभाविक रुपमा लिन्छन् । बाहिर आलोचना गरे जस्तो गर्ने तर दुवै पक्षको लक्ष्य र गन्तव्य एउटै हुने घटनाक्रमलाई यस सिद्धान्तले सम्बोधन गर्दछ । आज एमालेमा केपी र विद्याको सम्बन्ध पनि षडयन्त्रको सिद्धान्त अनुसार नचलेको होला भन्न सकिने आधार छैन ।
बालेन लगायत स्वतन्त्र वुद्धिजीवीहरु र पार्टी संस्थापनको दपेटाईमा परेका नेता–कार्यकर्ताहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निवास भंगालमा जाने क्रम सुरु भैसकेको छ । पार्टीको संस्थापनपक्षबाट पेलिएका कार्यकर्ताहरुको लागि ‘राजनीतिक आश्रयस्थल’ बन्न थालिसकेको छ, उनको निवास । नेता तथा कार्यकर्ताको मात्रै आउजाउ हुने गरेको छैन, पूर्व राष्ट्रपति निवासमा अहिले अन्य राजनीतिक दलका नेता,जनप्रतिनिधिदेखि समर्थक–शुभचिन्तक र स्वतन्त्र व्यक्तिहरुको पनि बाक्लो ओहोरदोहोर देखिन्छ ।
आफ्नो राजनीतिक पुनरागमनको निर्णयलाई समाजको तल्लो तप्का र आममान्छेले कसरी लिइरहेको छ भन्ने बुझ्न भण्डारीले स्वतन्त्र व्यक्तिहरुसँगको भेटलाई प्राथमिकतामा राखेको बुझिन्छ । राष्ट्रपति भैसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरालाई समाजको एउटा पंक्तिले नरुचाएको र त्यसलाई कतिपयले नैतिक प्रश्न बनाएको अवस्था छ । यसप्रति पूर्व राष्ट्रपति सचेत नै रहेको र सबैका कुरा सुन्नुपर्छ भन्ने हिसाबले स्वतन्त्र बुद्धिजीवीहरूसँग छलफल गरिरहेको निकटहरू बताउँछन् ।
ओलीको समर्थनमै एमालेको नेतृत्वमा पुग्ने विश्वास जनाए पनि भण्डारीले भेट्न जानेहरूलाई त्यसबारे थप प्रष्ट भने पारिसक्नुभएको छैन । त्यसो भए के उहाँ पुनः उपाध्यक्ष भएर बस्ने सम्भावना छ ? शुभचिन्तकहरूको जिज्ञासामा उहाँको कूटनीतिक जवाफ हुन्छ, ’पहिला पनि उहाँ (ओली) सँग सहमतिमै काम गरेको हो,अब पनि सहमतिमा नै हुन्छ । पार्टी बलियो भएमात्र राजनीति गर्न सजिलो हुने हो । त्यसैले अन्तरविरोध चर्काउनुपर्ने केही छैन ।’
एमालेका दोस्रो पुस्ताका नेताहरु खासगरी महासचिव शंकर पोखरेल लगायतलाई भने विद्याको घोषणाले निद हराम गरिदिएको छ । उनीहरु एमालेको विधानको व्याख्या गर्न लागिरहेका छन् । एमालेको विधानमा दुई कार्यकाल यौटै पदमा रहन नपाउने व्यवस्था रहेको एकथरीको भनाइ रहेको छ । विद्यापक्षीय नेताहरु विधानको मौजुदा व्यवस्था कायम रहेको दाबी गरिरहेका छन् । तर शंकर पोखरेलले उक्त प्रावधान संशोधन भैसकेको दाबी गर्दछन् । विधानको उक्त व्यवस्था हटेको हो भने केपी ओली तेस्रो पटक अध्यक्ष बन्न कुनै बन्देज हुनेछैन ।
एमालेले आगामी भदौ २० देखि २२ मा विधान महाधिवेशन गर्दैछ । पछिल्लो सचिवालय बैठकले आन्तरिक तयारी गर्नुका साथै दस्तावेज लेखनका लागि कार्यविभाजन गरिसकेको छ । अघिल्लो विधान महाधिवेशनबाट पारित ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान रहने कि हट्ने भन्ने कुराको निक्र्यौल यही महाधिवेशनले गर्नेछ । यो व्यवस्था कायम रहँदा तेहेरिएर अध्यक्ष बन्ने तयारीमा रहनुभएका वर्तमान अध्यक्ष ओलीको बाटो विधानतः बन्द हुनेछ । यी दुबै प्रावधान हटेको खण्डमा उहाँलाई फेरि अध्यक्ष उठ्न बाधा पर्ने छैन । भावी नेतृत्व चयनको प्रश्नसँग प्रत्यक्षसम्बन्धित विधानको यो प्रावधानलाई आफू अनुकूल व्याख्या गर्न दुवैतर्फका नेता–कार्यकर्ता कस्सिएर लागेकाले पनि एमालेको आन्तरिक जीवनमा यो विधान महाधिवेशन महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया