काठमाडौं - लामो समयदेखि पाठेघरको गम्भीर समस्याबाट आक्रान्त एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानकी ५० वर्षीय सरस्वती कुँईकेलको बुधबार दूरबिनको माध्यमबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो । गत मङ्गलवार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी कुँईकेलको कलेजकी स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख प्रा।डा। रिता मरहठ्ठा नेतृत्वको टीमले सफल शल्यक्रिया गरेको हो ।
महिनाबारीमा अत्यधिक रक्तश्राव हुने, महिनावारी समयमा नहुने जस्ताबाट पीडित कुँईकेलको भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता अत्यन्त बाक्लो भएको र पाठेघरमा ट्युमरसमेत पलाएको पाइएको प्रा.डा. रिता मरहठ्ठाले जानकारी दिइन् ।
‘उहाँ लामो समयदेखि महिनावारीमा अत्यधिक रक्तस्रावबाट पीडित हुनुहुन्थ्यो । विभिन्न औषधी उपचार गर्दा पनि ठिक नभएपछि भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता बाक्लो भएको र ट्युमर पनि पलाएको पाइयो । त्यसपछि तत्कालै शल्यक्रिया गर्न सल्लाह दियौं ।’ प्रा.डा. मरहठ्ठाले भनिन् । सरस्वतीको औषधीबाट उपचार नभएपछि प्रा.डा.मरहठ्ठाले पाठेघरको शल्यक्रिया गर्न सल्लाह दिएकी थिइन् ।
सरस्वतीको पाठेघरमा ट्युमर पाइएपछि प्रा.डा. मरहठ्ठाले पाठेघर निकाल्न सुझाएकोमा उनकै नेतृत्वमा दूरबिनको माध्यमबाट सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात बिरामी सरस्वतीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले शनिवार डिस्चार्ज समेत गरिसकेको छ ।नेपाल मेडिकल कलेजको स्त्री तथा प्रसूति रोग विभागमा दूरबिनको माध्यमबाट जति पनि शल्यक्रियाहरू गरिन्छ त्यसको नेतृत्व डा. मरहठ्ठाले गरिरहेकी छन् ।
कलेजमा १०-१२ वर्षयता पाठेघरका जटिल शल्यक्रिया र उपचार भइरहेको छ । विगत २५ वर्षदेखि कलेजमा कार्यरत प्रा.डा. मरहठ्ठा स्त्री तथा प्रसूति रोगको वरिष्ठ विशेषज्ञ डाक्टर हुन् । विभागमा स्त्री रोग विशेषज्ञहरु डा. सनिता कायस्थ, डा. अमृता गिरी, डा. अंशुमाला जोशी, डा. आस्था श्रेष्ठ, डा. अमरेन्द्र प्रसाद कुशवाहा लगायत रहेका छन् ।
आमाको सफल शल्यक्रिया भएकोमा खुसी व्यक्त गर्दै छोरा जनार्दन कुँईकेलले अस्पतालबाट प्राप्त सेवाहरू राम्रो र प्रभावकारी रहेको बताए । आफुहरु स्थानीय भएको तथा लामो समयदेखि मेडिकल कलेजमै उपचार गराईरहेको बताउँदै अस्पतालले हरेक रोगको उपचारमा विशेषज्ञ चिकित्सकहरू उपलब्ध गराएकाले सर्वसुलभ शुल्कमै उपचार गर्न पाइएको बताए । ‘अस्पतालको सेवाहरू राम्रो छ । हामी नियमित आइरहन्छौं । मेडिकल कलेज भएकोले शुल्क पनि सस्तै छ । विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । स्टाफ नर्सहरु पनि सहयोगी हुनुहुन्छ ।’ उनले भने ।
कलेजमा पाठेघरको समस्या लिएर आउने बिरामीहरू बढिरहेका छन् । बदलिँदो जीवनशैली र खानपानका कारण पछिल्लो समय महिनावारी गडबडी र पाठेघरको समस्याका बिरामीहरू बढेका छन् । त्यसो त विभागमा अनुभवी र विशेषज्ञ चिकित्सकहरू रहेकाले स्त्री रोग सम्बन्धी उपचारका लागि टाढाबाट बिरामीहरू आउने गरेका छन् ।
‘हामी कहाँ हरेक रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरू हुनुहुन्छ । इमरजेन्सी र साधारण ओपिडीमा विशेषज्ञ चिकित्सकबाट उपचार हुन्छ, ओपिडीमा नभ्याउने बिरामीहरूको लागि इएचएसबाट पनि सेवा प्रदान गरिरहेका छौं ।’ स्त्री तथा प्रसूति रोग विभागीय प्रमुख प्रा.डा. मरहठ्ठाले बताइन् ।
प्रतिक्रिया