बाँसुरीकाे धुनले दिपक ब्यूँझियाे । बिहान ५ बजिरहेकाे थियाे । ढाेका नभएकाे खरकाे घर (धर्मशाला) बाट हाईकाढ्दै उ बाहिर निस्कियाे । वावा जी बाँसुरी बजाइरहेका थिए । 'आज फेरी ढिलाेसम्म सुतियाे, छ्या !' आफुलाई धिक्कार्दै उ भान्सातर्फ दाैडियाे । खर र काठका झिंजाले बनाइएका ढाेका नभएका घरहरु, ठूलाे धर्मशाला, सानाे भान्सा अनि चिटिक्क परेकाे वावा जीकाे आश्रम । बाँसुरीकाे धुन आश्रमबाट आईरहेकाे थियाे ।
भान्सा भित्र पानी बाेक्ने जर्कीनै जर्किन थिए । एउटा जर्किन समातेर उ पहाडकाे ढिकबाट 'ॐ नम: नारायण !' भन्दै पूर्वतिर तल दाैडियाै । उसकाे दिनचर्या त्यस्तै थियाे । ५ बजे भित्र-भित्र पानी लिन तल खाेला झरिहाल्नु पर्ने र सकेसम्म ६ बजे भित्र नुहाइ धुवाइ गरेर जल लिएर माथि सन्तानेश्वर मन्दिर पुग्ने । वावा जीले चाँडै उज्यालाे हुने दिनमा आश्रममा आएका भक्तजनहरु, स्नान गर्न तल खाेला जानसक्ने जती सबैलाई पाँच बजे भन्दा चाँडाे पनि नजाने र त्याे भन्दा धेरै ढलाे पनि नगर्ने सुझाएका थिए ।
घना जंगल ! समथर क्षेत्रबाट ७०० मिटर सिधा उचाईमा आश्रमबाट गाउँ भेट्नलाई ७ किमि जंगलकाे बाटाे हिँड्नु पर्ने हुन्छ। डाँडामा तल जंगलतिर बाघ कराएकाे सुनिन्छ । मयूर त आश्रममा कम मान्छे भएकाे समयमा नजिक नजिक सम्म पनि आईपुग्छन् । तल खाेला झर्दा बाटाेमा दुम्सीका काँडाहरु भेटिन्छन् । पहाडै भरी रातरानी फुलका बिरुवाहरुले ढाकिएकाे छ । आश्रमकाे डाँडामा उभिएर उत्तर हिमाल तिर फर्किई लामाे सास लिंदा, वाह ! आफ्नाे फाेक्साेमा सास पनि रमाइरहेकाे हुन्छ ।
महाराज जीकाे बासुँरीकाे धुन पानीकाे बाटाेमा तल झर्दा आधाबाटाेसम्म सुनिन्छ । खाेलामा झर्दा हल्ला गर्दै झर्ने निर्देशन थियाे महाराज जीकाे । बिहानकाे पहिलाे प्रहर मुहानमा बाघ लगायत जंगलमा रहेका कुनैपनि हिंस्रक जनावर पानी खान आउन सक्छन्, जम्का भेट हुँदा आक्रमण पनि गर्न सक्छन् भनेर वावा जीले त्यस्ताे भनेका । उनकाे भनाइ अनुसार शिकारी जनावरले पनि आफ्नाे शिकारकाे वर्गीकरण गरेकाे हुन्छ र जाे काेहीसँग भिड्न चाहाँदैनन् । माथिबाट हल्ला गर्दै गयाे भने तल पानीकाे मुहानबाट जंगली जनावरहरु जंगल पस्ने माैका पाउँछन् ।
१ किमि जति ओरालाे लागेर तल पहाडकाे खाेंचमा पानीकाे मुहान छ । झर्न अलि छिटै भएपनि चढ्दा जस्ताेसुकै हिँड्न सक्छु भन्नेलाई पनि ३५ मिनेट भन्दा कम लाग्दैन । जाँदा खाली खाली जर्किन, फर्कदा पानीले भरिएकाे । दीपकले २० लिटरकाे जर्किन लिने गरेकाे छ । आश्रममा पानीकाे व्यवस्थापनकाे लागि पाँच लिटरकाे जर्किन देखि लिएर १०, १५, २० हुँदै १००, २०० र ५०० का ड्रमहरु छन् । वावा जीकाे दर्शन गर्नका खातिर दैनिक जसाे भक्तहरु आश्रममा उल्लेख्य मात्रामा आइरहेका हुन्छन् । नजिकका भक्तहरु मात्र नभएर काठमाडाैं, पाेखरा लगायतका शहरहरुबाट र भारतका पंजाब, मुम्बई, कर्नाटक, गुजरात लगायतका प्रान्तहरुबाट पनि श्रद्धालुहरु वावा जीलाई भेट्न आइरहेका हुन्छन् । कतिपय टिभि र युट्युब च्यानलहरुले वावा जीलाई देखाई पनि रहेका छन् ।
हरेक उमेर समुहकाे महिला-पुरुष देखि लिएर लाैराे टेकेर हिड्ने बृद्ध-बृद्धा सम्म पनि सास फुलाउँदै महाराजकाे दर्शनका लागि पुगेका हुन्छन् । बच्चाहरु पनि उत्तिकै पुगेका हुन्छन् । 'बच्चाकाे म साथि हुँ !', महाराज जीकाे भनाई छ । केही दिन आश्रमकाे वावा जीसँग सत्संमा बिताउने उद्देश्यले आएका उनिहरु अधिकांशले आफुले आश्रममा खर्च गर्ने पानी बराबर पनि मुहान बाट पुर्याउन सक्दैनन् । नुहाइधुवाई गरेर खाली शरिर मात्र माथि उक्लन पनि उनिहरुलाई धाै परिरहेकाे हुन्छ ।
नेपालगन्ज शहरबाट कुनै त्यस्ता अधिकारीहरु बाँकी छैनन् हाेला जाे महाराजलाई भेट्न नपुगेका हुन् । काेहलपुरका राजनीतिज्ञ सूर्य ढकाल, माननीय कृष्णा केसी नमूना, पूर्व मन्त्री गजेन्द्र हमाल लगायत त प्रतिनिधि पात्र मात्र हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणपनि महाराज जीकाे दर्शनाभिलाषी थिए । मन्दिर तल ठेककाे गाउँसम्म त पुगे तर जंगलकाे अप्ठेराे बाटाे गाडी जान नमिल्ने भएकाेले फर्के ।
कुनै ट्राभल एजेन्सीले 'नेपालगन्ज टु सन्तानेश्वर हेलकप्टर टुर' प्याकेज बनाउने कुरा निकालेपछि तत्कालिन शहरी विकास मन्त्री कृष्णा केसी नमूनाकाे पहलमा हेलीप्याड पनि बनाइएकाे छ, आश्रमदेखि एकतह माथिकाे डाँडामा । आश्रममा हेलिप्याड बनेकाे २ वर्ष बढी भयाे, श्रद्धालुहरुकाे बिश्रामस्थल बनेकाे छ । राजनीतिज्ञ सूर्य ढकाल आश्रमसम्म बाटाे पुर्याउन कस्सीएका छन् । माहाराज जीले स्वयम् आफु बसेर आश्रम चलाउन लागेकाे ४ वर्ष हुँदैछ ।
'ॐ नम: नारायण' पानीले भरिएकाे २० लिटरकाे जर्किन सहित दीपक आश्रमकाे आँगनमा पुग्याे । पसिनाले लछप्प भिजेकाे, ठडाे उकालाे चढ्दा उसकाे सास पनि फुलिरहेकाे थियाे । सम्बन्धित ठाउँमा पानी बिसाएर भान्साकाे ढाेकामा थचक्क बस्याे । बिहानकाे समय स्नानकाे लागी पानीकाे मुहानमा झर्ने र त्यहाँबाट माथि उक्लने भक्तजनहरुकाे लस्कर देखिन्छ । 'पहाडी वावा की जय !', 'सन्तानेश्वर महादेव की जय!' लगायतका जयकाराले जंगल गुञ्जाएमान भइरहेकाे छ । जयकारा पहाडमा ठाेकिएर 'इकाे' आवाज सुनिँदाकाे आनन्द छुट्टै छ । क्रमश:
प्रतिक्रिया