काठमाडाैं- स्याङ्जाका किसानहरू व्यावसायिक आलुखेतीतर्फ तीव्र रूपमा आकर्षित भएका छन्। गल्याङ, चापाकोट, भीरकोट र वालिङ क्षेत्रका किसानहरूले सामूहिक र व्यक्तिगत रूपमा आलुखेती सुरु गरेका छन्। यस वर्ष जिल्लामा कुल २,४०० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ, जुन गत वर्षको १,८५० रोपनीको तुलनामा उल्लेखनीय वृद्धि हो।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार क्षेत्रफलमा भएको यस वृद्धिले उत्पादनमा समेत सकारात्मक प्रभाव पार्नेछ। "यस वर्ष उत्पादन वृद्धि हुने संकेत देखिएको छ," उनले बताए ।
कृषकहरूलाई प्राविधिक प्रशिक्षण, सिँचाइ, रोगकीरा व्यवस्थापन, ग्रेडिङ, प्याकिङ र बजारीकरणमा सहयोग गर्दै आएको केन्द्रले बीउ खरिदमा अनुदानसमेत प्रदान गरेको छ। स्थानीय जनकदेव, खुमल उज्वल, कार्डिनल, एमएस ४५, र रोजिटाल जस्ता उन्नत जातका बीउ आलु लगाएर स्याङ्जा आलु उत्पादनमा आत्मनिर्भर बनेको छ। ‘बीउ आलु’ जिल्लाबाट अन्यत्र निर्यात हुने गरेको छ भने ‘खायन आलु’ भने अन्य क्षेत्रबाट आयात गर्नुपर्ने स्थिति अझै कायम छ।
किसानहरू उत्पादनको भण्डारण र बजारीकरणका बारेमा सचेत हुँदै गएकाले भविष्यमा उनीहरूले आफ्नै उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउन सक्ने देखिएको छ। “हावापानी र भूगोलअनुसार कुन जातको आलु उपयुक्त हुन्छ भन्ने विषयमा अध्ययन गरेर किसानलाई बीउ सिफारिस गरिन्छ,” प्रमुख हमालले बताए।
स्याङ्जाका किसानले व्यावसायिक आलुखेतीलाई तीव्र रूपमा अंगाल्न थालेकाले जिल्लामा कृषि व्यवसायमा आर्थिक सम्भावना थप बलियो हुँदै गएको छ। आगामी वर्षहरूमा स्याङ्जा आलु उत्पादन र निर्यातको प्रमुख केन्द्र बन्ने सम्भावना रहेको छ।
प्रतिक्रिया