बसाइँसराइले रित्तिँदै गएको गाउँमा कागतीखेतीको हरियाली

आइतबार, १३ माघ २०८१, ०५ : ५८

काठमाडाैं- बसाइँसराइका कारण सुनसान बन्दै गएको बागलुङ नगरपालिका–१४ बलेवामा किसानहरूले अब नयाँ उमङ्गका साथ हरियाली फैलाउन थालेका छन्। बलेवाका ५२ जना किसानले समूह बनाएर झाडीले ढाकिएको साढे दुई सय रोपनी बँझो जमिनलाई हराभरा बगानमा रूपान्तरण गरिरहेका छन्। उनीहरूले ‘चासो कृषक समूह’को नाममा विसं २०७७ देखि व्यावसायिक कागतीखेतीको सुरुआत गरेका हुन्।

यो हरित अभियानले गाउँमा नयाँ आशा र आत्मनिर्भरताको आधार ल्याएको छ। समूहका अध्यक्ष केशव सुवेदीका अनुसार, कागतीखेतीका लागि झन्डै रु एक करोड ५० लाख लगानी भएको छ। यसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु १५ लाख र कृषि ज्ञान केन्द्रबाट रु छ लाख अनुदान प्राप्त भएको छ। बाँकी लगानी किसानहरूले आफैँ जुटाएका हुन्।

गत वर्षदेखि नै फल दिन थालेको कागतीले यस वर्ष झन्डै रु पाँच लाखको बजार बिक्री गरेको छ। बागलुङ र कुश्मालगायतका बजारमा किसानहरूले उत्पादन पुर्याउँदै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। हाल बगानमा चार हजार कागतीका बिरुवाहरू हुर्किरहेका छन्।

गाउँमा बाँदर आतङ्कका कारण अन्य खेती गर्न मुस्किल परेपछि किसानहरूले कागतीखेतीलाई विकल्पका रूपमा रोजेका हुन्। काँडा भएका कागतीका बिरुवाले बाँदरलाई टाढै राख्न सफल भएको र यसले खेतीयोग्य जमिनको सदुपयोग गर्न प्रेरणा दिएको सुवेदी बताउँछन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि कृषक समूहलाई प्राविधिक सहयोग र विषादी व्यवस्थापनमा सहायता गर्दै आएको उल्लेख गरे। परियोजनाले २०७९ मा चक्लाबन्दीका लागि रु १० लाख र कागती ग्रेडिङ तथा भण्डारणका लागि गत वर्ष रु पाँच लाख सहयोग गरेको थियो।

“गाउँको सुनसानपना हटाउँदै यो खेतीले हरियालीको मुहार ल्याएको छ। अन्य किसानका लागि पनि यो परियोजना अध्ययन केन्द्र बन्न सक्छ,” प्रमुख पौडेलले भने। किसानहरूले मेहनत गरेर हरियाली साकार पारेका छन्, जसले अब गाउँको आर्थिक समृद्धिको ढोका खोल्नेछ।

बर्सेनि बढ्दै गएको उत्पादनले किसानलाई मात्र होइन, गाउँको अर्थतन्त्रलाई पनि जीवन दिने सम्भावना बढाएको छ। बलेवाका कागती किसानहरूले गाउँको परम्परागत अस्तित्वलाई हराभरा भविष्यमा रूपान्तरण गर्दै नेपाली कृषि क्षेत्रलाई एक नयाँ प्रेरणा दिइरहेका छन्।

आइतबार, १३ माघ २०८१, ०५ : ५८

प्रतिक्रिया