अखिल(क्रान्तिकारी)को निर्वाचनमा रोचक पक्ष

प्रचण्ड पक्षको चुनावी कमाण्डर उपमहासचिव बस्नेत, शर्माले दिएका थिए आफ्नै भाईलाई परिचालनको जिम्मा

आइतबार, १३ माघ २०८१, १० : ४०

काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को नेतृत्व चयनका लागि भएको निर्वाचनमा यसलाई प्रतिष्ठको विषय बनाउँदै पार्टी नेतृत्वबाटै हस्तक्षेपकारी भूमिका निर्वाह भएको खुलासा भएको छ ।

यस निर्वाचनमा शक्ति बस्नेतले नयाँ गुट खडा गरेको प्रचार गरिए पनि उनी प्रचण्ड पक्षीय उम्मेदवार जिताउनका लागि चुनावी कमाण्डर मात्रै रहेको माओवादी स्रोतको दाबी छ ।माओवादी स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकटका अध्यक्षका प्रत्यासी विजयप्रकाश सापकोटालाई जिताउन शक्ति बस्नेतलाई परिचालन मात्रै गरेका हुन् ।

प्रचण्डले आफ्ना उम्मेदवार सापकोटालाई जिताउन बस्नेतलाई परिचालन गरेको र उपमहासचिव जनार्दन शर्माले चुनावी कमाण्डरको जिम्मा आफ्नै भाई अनिल शर्मालाई दिएका थिए । उपमहासचिव शर्माको पक्षबाट अध्यक्षका उम्मेदवार हेमन्त राई चुनावी मैदानमा उत्रिएका छन् । 

राईलाई जिताउन शर्माले आफ्नै भाई अनिललाई यस निर्वाचनको कमाण्डरको रुपमा परिचालन गरेका थिए भने प्रचण्ड पक्षीय उम्मेदवार जिताउन उपमहासचिव बस्नेत स्वयंम आफैं खटिएका थिए ।

देशभर मतदाताका रुपमा रहेका विद्यार्थी नेताहरुलाई प्रचण्डको सचिवालय नै प्रयोग गरी मत प्रभावित गर्न लगाइएको इतर पक्षको आरोप छ । सम्पूर्ण तागत नै इतर पक्ष हराउन लागिएको अखिल(क्रान्तिकारी)को पदाधिकारीका एक प्रत्यासी बताउँछन् । 

‘पञ्चायतकालमा शक्तिको दुरुपयोग गरी आफ्ना उम्मेदवार जिताउन गरिएको हर्कत भन्दा अझैं भयानक अवस्था देखियो ।’, ती उम्मेदवार भन्छन्, ‘साम, दाम सबै प्रयोग गरेर अध्यक्ष प्रचण्डसहित शक्ति र सिंगो सचिवालयले धम्की दिँदै आफू पक्षीय उम्मेदवारलाई मत हाल्न लगाए ।’

यो पनि पढ्नुस्

अखिल(क्रान्तिकारी)को निर्वाचन : मतदातालाई प्रभावित पार्न पार्टी हेडक्वाटरको फोन आतंक

गत असोजमा आयोजित अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनमा विवाद हुँदा नेतृत्व चयन हुन नसकेर रोकिएको थियो । संगठनमा नेतृत्वका आकांक्षी अत्यधिक भएपछि निर्वाचनमार्फत टुंगो लगाउने प्रयत्न गर्दा पनि सफल हुन सकेको थिएन । अन्ततः उमेरहद लगाउने प्रस्ताव पेश गर्दा पनि सहमति जुट्न नसकेपछि त्यसमा समेत निर्वाचन गराइएको थियो ।

३२ वर्षे उमेर हद लगाउने / नलगाउने भन्ने निर्क्याैल गर्न गरिएको निर्वाचनमा उमेर हदको पक्षमा मतपरिणाम आएपछि त्यसको विपक्षमा रहेकाहरुले निर्वाचन परिणाम समेत सार्वजनिक गर्न अवरोध सिर्जना गरेका थिए ।

अहिले ३२ वर्षे उमेर हद अनुरुप तय भएको निर्वाचनमा अध्यक्ष प्रचण्डसहित उपमहासचिव शक्ति बस्नेत, स्वकिय सचिव रमेश मल्ल, छोरी गंगा र रेणुले पद र शक्तिको आडमा आफ्नो पक्षका उम्मेदवार सापकोटाको पक्षमा देशव्यापी अभियान सुरु गरेका थिए ।

शनिबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अध्यक्षका चार जना प्रत्याशीमध्ये सापकोटा सहित,राई, सुदिन पौडेल र उपदेश यादव चुनावी मैदानमा रहेका छन् ।

यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षीय उम्मेदवार हुन् भने पौडेल उपमहासचिव वर्षमान पुन पक्षबाट उम्मेदवारी दिएका हुन् ।

आइतबार, १३ माघ २०८१, १० : ४०

प्रतिक्रिया