काठमाडाैं- प्राकृतिक जैविक खेतीप्रतिको समर्पणले नेपाली कृषकले अद्भुत उपलब्धि हासिल गरेका छन्। विषादीको प्रयोग नगरी उत्पादन गरिएको सात किलोको काउलीले सबैको ध्यान खिचेको छ। यो विशेष काउली भक्तपुरकाे सूर्यविनायकमा आयोजित कृषि तथा घरेलु मेलामा बिक्रीका लागि राखिएको छ, जहाँ कृषकले आफ्नो बारीमा उत्पादन गरेका अन्य जैविक वस्तुहरू पनि प्रदर्शनमा राखेका छन्।
कृषि मेलामा किसानले काउली मात्र होइन, च्याउ, ब्रो काउली, आलु, ताइचिन चिउरा, विभिन्न जातका दाल, मकैको खोस्टाबाट बनेका फूल, काठका सामग्री र पश्मिनाका कपडाहरू प्रदर्शन गरेका छन्। उपभोक्ताहरूले यी जैविक उत्पादनप्रति देखाएको चासोले मेलालाई थप उत्साहजनक बनाएको छ।
जिल्ला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सनिस लागेजुले कृषि उत्पादनले देशको अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै भने, “सहकारी प्रणालीले कृषकहरूको मेहनतलाई मूल्य दिलाउँदै अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ।”
कृषकहरूको मेहनत र भूमिको उर्वर शक्तिले मेलाको मुख्य आकर्षण बनेको छ। विषादीरहित उत्पादनले स्वास्थ्य र वातावरणमा पार्ने सकारात्मक प्रभावले उपभोक्ताहरूलाई अझ बढी आकर्षित गरेको देखिन्छ।
मेलामा प्रदर्शन गरिएका काठका सामग्री र पश्मिनाका कपडाहरूले नेपाली हस्तकलाको मौलिकतालाई झल्काएका छन्। यी उत्पादनहरूले कृषिमा आधारित घरेलु उद्योगलाई प्रोत्साहन गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
कृषकको यो सफलता र मेलामा देखिएको सहभागिता जैविक कृषि प्रणालीप्रति बढ्दो चासोको संकेत हो। यसले भविष्यमा जैविक उत्पादनमार्फत नेपाली कृषिले आत्मनिर्भरता मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने संकेत दिएको छ।
प्रतिक्रिया