काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को निर्वाचनमा पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षीय अधिकांश उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।
गत असोजमा आयोजित राष्ट्रिय सम्मेलन अन्तर्गत नेतृत्व चयनका लागि यही शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अध्यक्ष र उपाध्यक्ष बाहेकका अन्य पदाधिकारीको बुधबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार अधिकांश पदाधिकारीमा शर्मा पक्षीय उम्मेदवार विजयी भएका हुन् ।
पार्टीमै लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्नुपर्ने मत प्रकट गर्दै आएका शर्माको म्याण्डेट विद्यार्थी संगठनबाट अनुमोदन भएको छ । सार्वजनिक मतपरिणाम अनुसार महासचिवमा शर्मा पक्षीय रोशन थापामगर ४१० मत सहित विजयी भएका छन् । यस अघि कोषाध्यक्षमा पनि शर्मा पक्षीय फूलमाया रानामगरले ५९६ मत ल्याएर निर्वाचित भएकी छिन् भने सचिवमा समेत अधिकांश उनै पक्षधर उम्मेदवारहरुले जित हात पारेका छन् ।
पछिल्लो निर्वाचित भएका ९ जना उपमहासचिवमध्ये ८ जना शर्मा पक्षीय उम्मेदवार विजयी भएका छन् । भौगोलिक ७ प्रदेश र गैर भौगोलिक २ प्रदेश गरेर ९ प्रदेशबाट ९ जना उपमहासचिव मध्ये कोशी प्रदेशबाट विपिन पोखरेल ८३१, मधेश प्रदेशबाट गजेन्द्र यादव ४०७ मत, बागमतीबाट निर्मला गौतम ८०३, गण्डकी प्रदेशबाट भगवान बास्तोला ७६९ मत, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी ६२८ मत, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी ६०४ मत र सुदूपरिश्चम प्रदेशबाट रामचन्द्र भट्ट ३९९ मत सहित निर्वाचित भएका छन् ।
त्यस्तै उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ ४०६ मत, विश्वविद्यालय प्रदेशबाट जटिल कार्की ६४८ निर्वाचित भएका छन् । उपत्यकाबाट निर्वाचित श्रेष्ठ पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट हुन भने कोशीबाट निर्वाचित विपिन पोखरेल प्रचण्ड पक्षका हुन् । बाँकी अरु सबै विजयी शर्मा पक्षीय उम्मेदवार हुन् ।
यो पनि पढ्नुस्
माओवादीमा पुस्तान्तरणको एजेण्डा विद्यार्थी संगठनबाट कार्यान्वयन
प्रतिक्रिया