नेपालमा एचपिभी खोप अभियान सुरु हुँदै, वरिष्ठ अभिनेत्री मनिषा कोइराला सद्भावनादूत नियुक्त

बुधबार, १६ माघ २०८१, १८ : ५५

काठमाडौं- पाठेघरको मुखको क्यान्सरविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ अभिनेत्री तथा समाजसेवी मनिषा कोइरालालाई राष्ट्रिय खोप कार्यक्रम र एचपिभी खोप अभियानका लागि सद्भावनादूत घोषणा गरेको छ। आज मन्त्रालयले आयोजित विशेष कार्यक्रममा उनलाई औपचारिक रूपमा यो जिम्मेवारी सुम्पिएको हो।

सद्भावनादूत मनिषा कोइरालाले आफू क्यान्सरलाई पराजित गरेको अनुभव सुनाउँदै पाठेघरको मुखको क्यान्सरजस्तो घातक रोगबाट बच्न निरोधात्मक उपाय अत्यावश्यक रहेको बताइन्। खोपको महत्त्वलाई समाजभरि फैलाउन सक्ने अभियानको हिस्सा बन्न पाउँदा गर्व लागेको भन्दै उनले सबैलाई यस अभियानमा सहयोगी हात बढाउन आह्वान गरिन्।

नेपाल सरकारले यही माघ २२ गते (विश्व क्यान्सर दिवसका दिन) देखि फागुन ६ गतेसम्म देशभर एचपिभी खोप अभियान सञ्चालन गर्ने तयारी पूरा गरिसकेको छ। यस क्रममा १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप प्रदान गरिनेछ। खोप प्रारम्भिक किशोरावस्थामै लगाए क्यान्सरको जोखिम न्यून हुने वैज्ञानिक प्रमाणका आधारमा, १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई प्राथमिकतामा राखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक दिन औसतमा ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर पुष्टि हुने र ४ जनाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ। यही भयावह अवस्थालाई अन्त्य गर्न सरकारले सन् २०३० सम्म ‘९०–९०–९०’ लक्ष्य प्राप्त गर्ने रणनीति लिएको छ। यो योजनाअन्तर्गत, १० देखि १४ वर्षका ९०% किशोरीलाई एचपिभी खोप दिने, ३० वर्षभन्दा माथिका ९०% महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने, र पहिचान गरिएका ९०% संक्रमित महिलालाई उपचारको दायरामा ल्याउने लक्ष्य राखिएको छ।

यस वर्ष सञ्चालन हुने एचपिभी खोप अभियान विद्यालयहरू केन्द्रित हुने छ। कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप प्रदान गरिनेछ। विद्यालयहरूमा खोप लगाइसकेपछि, स्वास्थ्य संस्था, बाह्य खोप केन्द्र, तथा वडा कार्यालयहरूबाट पनि खोप प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार, यस अभियानमा देशभर १८,९०० विद्यालय र ८,००२ खोप केन्द्रहरूबाट सेवा प्रदान गरिनेछ। २७,००० स्वास्थ्यकर्मी र ५४,००० भन्दा बढी स्वयंसेवक खटाइनेछन्। हालसम्म अभियानका लागि आवश्यक १७ लाख ७० हजार २० मात्रा एचपिभी खोप देशभरका प्रदेशमा पठाइसकिएको छ।

यस अभियानलाई गाभी (Gavi) को सहयोग र नेपाल सरकारको सहलगानीमा सञ्चालन गरिँदै छ। नेपाल सरकारले एचपिभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्दै दिगो रूपमा उपलब्ध गराउने नीति लिएको छ। मन्त्रालयका अनुसार, नेपालमा वितरण गरिने एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा प्रमाणित सुरक्षित र प्रभावकारी खोप हो, जसलाई औषधि व्यवस्था विभागले पनि स्वीकृति प्रदान गरिसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकलाई क्यान्सरमुक्त बनाउने दीर्घकालीन लक्ष्यतर्फ अघि बढेको बताएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार, "अब हामी उपचारात्मक मात्र होइन, निरोधात्मक अभियानमा केन्द्रित भएका छौँ। नेपालका हजारौँ महिलाको जीवन जोगाउन हामी प्रतिबद्ध छौँ।"

यस ऐतिहासिक अभियानको हिस्सा बन्न र क्यान्सरविरुद्धको लडाइँमा योगदान दिन माघ २२ देखि फागुन ६ भित्र आफ्नो नजिकको विद्यालय वा स्वास्थ्य केन्द्रमा गएर एचपिभी खोप लगाउन मन्त्रालयले सबै किशोरीहरूलाई आग्रह गरेको छ।

बुधबार, १६ माघ २०८१, १८ : ५५

प्रतिक्रिया