शंकर–वर्षमानको फोन संवादले सत्ता गठबन्धनमा तरंग !

बुधबार, ३० माघ २०८१, १५ : ०२

काठमाडौं- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई गरेको फोन संवादको खुलासाले नेपाली राजनीति तरंगित बनेको छ ।

गत शनिबार पार्टी कार्यक्रममा गुल्मी पुगेका माओवादी उपमहासचिव पुनले अध्यादेशमा सहयोग माग्न एमाले महासचिव पोखरेलले आफूलाई फोन गरेको खुलासा गरेका थिए ।

सरकारले ल्याएको अध्यादेशमा सहयोगका लागि फोन गरेको पुनले खुलाएपछि त्यसलाई प्रष्ट पार्न पोखरेलले आइतबार लामो फेसबुक स्टाटस लेखेका थिए । उनले अनौपचारिक कुराकानीलाई सार्वजनिक गरेको भन्दे असन्तुष्टि जनाए पनि अन्तिममा वाम सहकार्यका लागि वातावरण बनाउन गरिएको हुनसक्ने आशय प्रकट गरे । यसले सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस सशंकित भएको छ ।

‘जहाँसम्म राजनीतिक ध्रुविकरणका सन्दर्भमा त्यसप्रति नेकपा(एमाले)को नीति स्पष्ट छ । विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अव पुनः त्यही काम गर्नु उचित हुदैन । कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अवको वाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’, महासचिव पोखरेलले लेखेका थिए ।

यो पनि पढ्नुस्

वर्षमान पुनलाई शंकर पोखरेलको जवाफ- अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखियो

यही स्टाटसले अहिले सत्ता गठबन्धनमा भूकम्प आएको छ । गठबन्धनका नेताहरुलाई यसको स्पष्टीकरण दिन भ्याइनभ्याइ छ । पाखरेलले फेरि वाम सहकार्यको वातावरण नै तयार पार्न पुनलाई फाने गरेको आशंकाले कांग्रेसजन सशंकित भएका छन् । 

तर, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने यही गठबन्धन ८४ सम्म जाने दाबी गर्छन् ।  अनौपचारिक तवरले गरिएको कुराकानीलाई अतिरञ्जित गरिएपछि महासचिव पोखरेलले त्यसो भनेको हुनसक्ने उनले बताए ।

उनले आजको अर्थसँगको कुराकानीमा भने,‘अनौपचारिक रुपमा गरिएको कुराकानीको अपव्याख्या भएपछि सम्बन्ध सुधार गर्न पनि गरिएको हुनसक्छ भनेर कटाक्ष गर्नुभएको हो ।’ महासचिव पोखरेलको अभिव्यक्तिले सत्ता गठबन्धनमा कुनै समस्या नआएको उनको भनाइ छ ।

यता, माओवादी पनि तत्काल एमालेसँग सहकार्यको वातावरण बन्नेमा विश्वस्त देखिँदैन । पार्टी प्रवक्ता अग्नि सापकोटाले तत्काल सहकार्यको सम्भावना नरहेको औंल्याए । उनले भने, ‘उहाँ(शंकर पोखरेल)ले कुन सन्दर्भमा के आशय प्रकट गर्न खोज्नुभएको हो थाहा भएन तर तत्काल त्यस्तो सम्भावना छैन ।’ माओवादी प्रवक्ता सापकोटाले अहिले पार्टीका लागि सरकार प्राथमिकतामा नरहेको जिकिर गर्दै सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित गरिएको बताए ।

यो पनि पढ्नुस्

सुशासनको उपहास- अनेकौं प्रकरणका आरोपीलाई सत्ता गठबन्धनको उन्मुक्ति, महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग

 

बुधबार, ३० माघ २०८१, १५ : ०२

प्रतिक्रिया