काठमाडाैं- मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक र महिलाहरूको स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै निःशुल्क घरदैलो स्वास्थ्य सेवा अभियान शुभारम्भ गरेको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा सुरु गरिएको यो अभियानले नगरबासीलाई सहज, गुणस्तरीय, र पहुँचयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।
नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती महिला, तथा ‘क’ वर्गका अशक्तहरूलाई लक्षित गरी प्रत्येक वडामा महिनाको दुईपटक निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ। नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालका विशेषज्ञ चिकित्सक, नर्स, ल्याब असिस्टेन्ट, तथा अन्य स्वास्थ्यकर्मीहरू वडावडामा पुगेर सेवा दिनेछन्। घरबाहिर निस्किन नसक्ने ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूका लागि त उनीहरूको घरमै पुगेर सेवा प्रदान गरिनेछ।
नगर प्रमुख श्रेष्ठले अस्पतालसम्म पुग्न नसक्ने वा घण्टौँ लाइन बस्न नचाहने ज्येष्ठ नागरिक र महिलाहरूलाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिएको बताए। नेपाल-कोरियामैत्री नगर अस्पतालमा दैनिक हजारभन्दा बढी सेवाग्राही आउने भएकाले, वृद्धवृद्धा र महिलाहरूलाई विशेष प्राथमिकता दिई उनीहरूकै घरदैलोमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले उल्लेख गरे।
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगका बिरामीहरू अब अस्पताल धाउनुपर्ने झन्झटबाट मुक्त हुने बताए। महिनामा दुईपटक आफ्नै वडामा स्वास्थ्य जाँच गराउन सक्ने र आवश्यक औषधि प्राप्त गर्न सक्ने सुविधाले गम्भीर रोगहरूको पहिचान प्रारम्भिक चरणमै गर्न मद्दत पुग्ने उनले बताए।
नेपाल-कोरियामैत्री नगर अस्पतालका प्रमुख डा. दीपेन्द्रकुमार रोशनका अनुसार नगरपालिकाले आफ्ना नगरबासीलाई सहज स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने प्रतिबद्धता अनुरूप यो अभियान सुरु गरिएको हो।
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक श्रीकृष्ण श्रेष्ठका अनुसार मध्यपुरथिमिमा हाल १० हजार ३५ जना ६० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन्। यस अभियानअन्तर्गत स्वास्थ्य बिमा नगरिएका ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूका लागि निःशुल्क बिमा नगरपालिकाले गरिदिने व्यवस्था मिलाइएको छ।
यस अभियानले ल्याब सेवा, औषधि वितरण, भिडियो एक्सरे, अल्ट्रासाउन्ड, तथा आवश्यकतानुसार विशेषज्ञ सेवासमेत निःशुल्क उपलब्ध गराउनेछ। स्वास्थ्य सेवाको पहुँच अझै विस्तार गर्दै स्वस्थ, सशक्त, र समुन्नत नगर निर्माण गर्ने लक्ष्यसहित मध्यपुरथिमि नगरपालिका अघि बढेको छ।
प्रतिक्रिया