कार्यसम्पादनमा कमजोर देखाएर कुलमानलाई हटाउने उर्जामन्त्रीको दाउ

सोमबार, १९ फागुन २०८१, २१ : ११

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएर सरकारले पदबाट हटाउने फेरि अर्को प्रयत्न गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको हो । घिसिङलाई कार्यसम्पादनमा कमजोर देखाएर पदमुक्त गर्ने  उद्देश्यले उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काकै दबावमा शून्य नम्बर दिइएको उर्जा मन्त्रालय स्रोत बताउँछ ।

मन्त्रालयले सहसचिव जिवछ मण्डललाई कार्यसम्पादन मूल्यांकन समितिको संयोजक नियुक्त गरेको थियो । यद्यपि, कुलमान स्वयंले भने आफूलाई ९८ नम्बर दिनुपर्ने दाबी गरी मन्त्रालयमा फाराम बुझाएका थिए । मन्त्री खड्काले घिसिङलाई पदमुक्त गर्न यस अघि पनि पटक पटक स्पष्टिकरण सोधिसकेका छन् ।

यो पनि 

कुलमानलाई सरकारले दियो शून्य नम्बर

केही दिन अघि पदबाट हटाउने विषयमा उर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ दिँदै घिसिङले आफूलाई हटाउने अधिकार मन्त्रालयलाई नभएको लिखित जवाफ दिएका थिए । उनले आफूलाई मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको बताउँदै हटाउने अधिकार उर्जामन्त्रालयलाई नभएको जिकिर गरेका थिए ।

उर्जामन्त्रालयको जिम्मेवारी सम्हालेदेखि खड्काले घिसिङलाई हटाउन अनेकौं प्रयत्न गरिरहेका छन् । विद्युत प्राधिकरणमा कार्यकक्ष खडा गर्नेदेखि मन्त्रिपरिषद्मा समेत कुलमानलाई हटाउने प्रस्ताव पेश गर्ने तयारी गरेका थिए । यद्यपि,आफ्नै पार्टीका मन्त्रीहरु उनको प्रस्तावको विपक्षमा उभिएपछि घिसिङलाई पदमुक्त गर्न पाएनन् । 

तर, त्यसयता उनी निरन्तर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउन दाउपेच गरिरहेका छन् । उर्जा मन्त्री खड्काले कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएर घिसिङमाथि पदमुक्त गर्ने अर्को दाउमा लागेको स्रोत बताउँछ । कार्यसम्पादनमा कमजोर देखाएर नैतिकरुपमा बाहिरिन बाध्य पार्न शून्य नम्बर दिइएको मन्त्रालय स्रोतको दाबी छ ।

सोमबार, १९ फागुन २०८१, २१ : ११

प्रतिक्रिया