काठमाडौं - नेपाली समाजमा अहिले तीब्र असन्तुष्टि र आक्रोशले घर गरेको छ । मानिसहरुमा एक खालको वितृष्णा पनि पैदा भएको छ । २०४६ सालयता देशले ठूला परिवर्तनको अनुभव हासिल गरे पनि अपेक्षित आर्थिक समृद्धी र विकासको गतिले तीब्रता लिन सकेको देखिदैन । मुलुकमा रोजगारीको अवसर सिर्जना नहुँदा ठूलो युवाशक्ति देशबाट बाहिरिएको छ । मुलुक छोडेर गएको जनशक्ति बाहिर कष्टपूर्ण जीवन बिताएको छ । उसैले पठाएको रेमिटान्सले ठूलो आर्थिक हिस्सा ओगटेको छ ।
ऐतिहासिक जनआन्दोलनले ल्याएका उपलब्धीहरुको बारेमा पनि समाजले विभिन्न प्रश्नहरु उठाइरहेको छ । आन्दोलनपछि निर्मित राजनीतिक संरचनाप्रति जनस्तरमा व्यापक असन्तुष्टि देखिन्छ । जनताले अपेक्षा गरेको ‘नयाँ नेपाल’ बन्न नसकेको प्रति मानिसहरुको अझ ठूलो आक्रोश र असन्तुष्टि छ । ठीक यति नै बेला जनआन्दोलनबाट हटाइएका तत्कालीन राजा ज्ञानेन्द्रले फागुन ७ गते दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरिदिएको छ । आजै पूर्वराजा ज्ञानेन्द्र एक महिना लामो पोखरा भ्रमणबाट काठमाडौं फर्कंदैछन् । उनलाई स्वागत गर्न संसदको पाँचौ दल राप्रपा लगायत राजाका समर्थकहरुले अपिल गरेका छन् । यसले सरकार र मूलधारका राजनीतिक दलहरुको निद हराम गरिदिएको छ । हुलाकी मार्ग केन्द्रीत अभियान चलाइरहेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले त राजावादीहरु सक्रीय भएको भन्दै अभियान नै स्थगित गरेर काठमाडौ फर्किएको छ ।
राजनीतिमा देखिएको क्रिया प्रतिक्रियाहरुले सर्वसाधारण मानिसहरुमा एक किसिमको संशय उत्पन्न भएको छ । के राजा फेरि गद्दीमा फर्केलान् ? के फेरि राजनीतिक दलहरु प्रतिबन्धित होलान् ? के नेताहरु फेरि जेलमा जालान् ? जस्ता जिज्ञासाहरु यत्रतत्र सुन्न पाइन्छ । आजको सरकार र दलहरुकै अकर्मन्यताको कारण इतिहासको विस्मृतिमा गैसकेका राजाले चलखेल गर्ने अवसर पाएका हुन भन्ने पनि नेपाली समाजमा ठूलै जमात छ । यो जमात मूलधारका राजनीतिक दलहरुकै वैचारिक प्रभावमा रहे पनि उनीहरुको कार्यशैलीप्रति सन्तुष्ट हुन सकेको छैन ।
२०६२/ ६३ को जनआन्दोलनपछि जन्मेको पुस्तालाई राजतन्त्रकालीन शासन व्यवस्थाको अनुभव नभए पनि उक्त शासनको जुवामुनि पिल्सिएको पुस्ता पनि जीवितै भएकोले राजा फर्किने संभावना देखिदैन । जनआन्दोलनबाट हटाइएका राजाहरु फर्केको इतिहास विश्वमै दुर्लभ छ । त्यसैले राजा फर्किन्छन् कि भन्ने भ्रममा कोही पर्न जरुरी छैन । वर्तमान व्यवस्थाका सञ्चालकहरु पनि मुलुकप्रति जिम्मेवार हुँदै जन आकांक्षा र चाहना अनुरुप अघि बढ्ने प्रण गर्न जरुरी छ । अन्यथा राजा नफर्के पनि ढिलोचाँडो जनताकै बीचबाट जन्मेको अर्को शक्तिले भ्रष्ट नेतृत्वलाई विस्थापित गरिदिनेछ । तसर्थ, समयमै सद्बुद्धि पलाओस् ।
प्रतिक्रिया