समाचार टिप्पणी

किन हल्लिदैछ गणतन्त्रको जग ?

सोमबार, २६ फागुन २०८१, १२ : ५३

काठमाडौं - यतिबेला राजनीतिक दलहरु पूर्वराजालाई कडा जवाफ दिन मजा मानिरहेका छन् । राजाले फागुन ७ गते दिएको अभिव्यक्तिपछि मुलुकमा राजनीति तरङ्ग पनि निकै बढ्न थालेको छ । दलहरुले यो परिस्थिति किन आयो भनेर समीक्षा गर्नुपर्नेबेला राजालाई गाली गरेर कुनै उपलब्धी हुने देखिन्न । बरु दलहरुले शासनमा कहाँनेर गल्ती भयो भनेर  समिक्षा गर्दा उपयुक्त होला । नत्र, धेरै ढिला भैसकेको हुनेछ।

मुलुकमा गणतन्त्र आएपछि के कस्तो विकास भयो ? राज्य सञ्चालनको तौर तरिका कस्तो भएको छ ? यसबारेमा व्यापक समीक्षा आवश्यक छ । यो बीचमा हामीले ठूला– ठूला महलजस्ता सरकारी भवन बनायौं । लिफ्टवाला पालिकाका भबन बने । तर, जनताको चुल्हो बलेको छ कि छैन हेरेनौं । रोल्पाको सातदोबाटो जस्तो ठाउँमा भ्यूटावर बनाउन करोडौं खर्च गर्यौ। त्यही टावरको अलि पल्तिर चुहिने छानो भएको फुसको घरलाई २ बण्डल कर्कट पाता दिन सकेनौं। पालिकाका वडा सदस्यसम्मलाई तारेहोटलको ज्यूनार गर्न भ्याई नभ्याई छ। तर, दुरदराजकी एउटी सुत्केरीले पेटभरि दुई छाक खाना खान पाएकी छ कि छैन भन्ने सोधीखोजी गरेनौं। विहे ब्रतबन्ध गर्न र औंषधी उपचार गर्न लिएको लघुकर्जाले सबै नाङ्गो बनायो। ऋण तिर्न नसक्दा थातथलो छाडेर भाग्न बाध्य भएका छन् । बैदेशिक रोजगारीमा गएर उनीहरुले कष्टपूर्ण जीवन बिताइरहेका छन् । यता सरकार भने उनीहरुले रगत पसिना बगाएर पठाएको रेमिटान्समा भ्रष्टाचार गरिरहेको छ । 

दुईछाक खानैका लागि दिनहुँ हजारौं युवा युवती रुदै काँखको वच्चा छाडेर विदेशिए। बैदेशिक रोजगारीले धेरैजसोको परिवार बिखण्डन भएको छ। यसतर्फ हामीले ध्यान दिएनौ। कम्युनिस्टहरुले माक्र्सवनद मात्र बिर्सेनन् । उनीहरुले श्रमजीवी जनता पनि बिर्से ।  कांग्रेसीहरुले विपीको समाजवाद बिर्से ।   माओवादीहरूले माओ बिर्से। निकट अतितको ‘जनयुद्ध’को लक्ष्य बिर्से । आफ्नै आन्दोलनको ऐजेण्डा बिर्से । संविधान घोषणापछि जनताले यिनीहरुले प्रचार गरे अनुसारको नयाँ नेपाल बनाउलान् भनेर फरकफरक पार्टीलाई सत्तामा पनि पुर्याए। तर, जनताले चाहेजस्तै कसैले पनि पार्टीको सिद्धान्त र घोषणापत्र अनुसार काम गरेनन्। उनीहरूले सिद्धान्त मात्रै बिर्सेनन् आफ्ना लागि ज्यान दिने ईमानदार कार्यकर्ता अनि जनता पनि बिर्से। 

नेपाल जस्तो बैभवयुक्त सानो मुलुकका जनतालाई सामान्य आधारभुत आवश्यक्ता पनि परिपूर्ति गर्न राज्य विफल भयो ।  नेपाली जनताको धेरै ठूलो अपेक्षा थिएन, मात्रै दुई छाक खान देउ, बस्ने बास देउ अनि लगाउने र ओढ्ने कपडा देउ भन्ने मात्रै माग थियो। यसका लागि उनीहरू २४ घण्टा सरकारले खटाएको काम गर्न तयार थिए।तर सरकार माफिया, बिचौलिया र दलाल व्यापारीहरुको स्वार्थको घेराबाट बाहिर निस्कन सकेन । देशको लागि मरिमेटेर काम गर्ने कुलमान जस्ता राष्ट्रसेवकहरुलाई मानसिक टर्चर दिन थाल्यो । अब यो राज्यप्रति इमान्दार नागरिकले अपनत्वबोध गर्न निकै कठिन छ ।  

सरकारले जनतालाई सुशासन दिने र सहज सेवा प्रवाह गर्ने काममलाई कुनै महत्व दिएको छैन । सर्वसाधारण जनताले घर बनाउने काठ पाउन सकिरहेका छैनन् । तरकाठ बनमै सडेर गएको छ । तस्करी मौलाएको छ । बेच्नु पर्ने वालुवा, ढुंगा नदिले बगाएर भारत पुर्यायो। उत्खनन भैरहेका खानीमा खिया लाग्यो। हाम्रो सुनलाई नदिले बगाएर विहार पुर्यायो। हामी सुनकोसी नदि नाम भएकोमा मख्ख पर्यौ। हामीले यति सस्तो जलश्रोतको उपयोग गर्न सकेनौं। यति सुन्दर देशमा पर्यटक ल्याउने योजना बनाउन सकेनौं। विश्वले मंगल ग्रहमा बस्ती सर्ने योजना बनाईसक्दा पनि हामीले हाम्रा नागरिकलाई दुईछाक खान र एकसरो लुगा दिन सकेका छैनौं। मात्रै झगडा गरेर समय विताया‌ैं। जनताका लागि होईन सत्ताका लागि मात्रै राजनीति गरियो। अनि राजनीति के का लागि ?
अब पनि नचेत्ने हो भने भिरबाट लड्ने गोरुलाई राम राम मात्र भन्न सकिन्छ । काँध थाप्न सकिदैन । आफै रुपान्तरण नहुने हो भने सक्किनुको विकल्प छैन । जनता मात्र होइन कार्यकर्ता पनि सिद्धान्त र विचारको पुच्छर समातेर बसिरहन्छन् भन्ने छैन । समय निकै बदलिएको छ । सिद्धान्तको डोरीले बाँधेर राख्न संभव छैन । 

दलहरुले गणतन्त्र भनेको राजाविनाको शासन व्यवस्थाको रुपमा मात्र बुझ्नु हुँदैन । यो त नागरिकको शासन हुनुपर्दछ । जनताले स्वामित्व ग्रहण गर्ने व्यवस्था हुनुपर्दछ । दुर्भाग्य आजको राज्य जनताको बन्न सकेन । दलाल पूँजीपति र बिचौलियाको मात्र बन्यो । तिनीहरुले गणतन्त्रले ल्याएको प्रणालीको रक्षा गर्न सहयोग गर्दैनन् । बरु त्यही वर्गको कारण गणतन्त्रको जग हल्लिदैछ । जनतामा वितृष्णा यति बढेको छ कि उनीहरु राजा नआए पनि अरु कुनै अमुक शक्तिले सत्ता कब्जा गरोस् र आजका नव सामन्त र नव युवराजहरुलाई तह लगाओस् भन्ने देखिन्छ । 

पारसलाई गँजडी देख्नेहरुले आफ्नै शीर्षनेताका छोराहरुको हविगत देखेका छन् कि छैनन् ? सुनदेखि सहकारी र रक्तचन्दनको तस्करीमा को को संलग्न थिए ? भ्रष्टाचारलाई संस्थागत गर्न कसले खोजीरहेको छ ? त्यसैले अरुलाई सत्तोसराप गर्नुभन्दा पहिले आफैमा सुधार जरुरी छ । नेपाली जनता कसैका पनि दास र रैती होइनन् । लुटतन्त्र र भ्रष्ट सत्ताको बिरुद्ध कठोर संघर्ष गरेको अनुभव जनताले संगालीसकेका छन् । जनता स्वतन्त्र र सार्वभौम छन् । त्यसैले गणतन्त्रको रक्षा गर्ने हो भने आजको सरकार र ठूला दलहरुले शासकीय शैलीमा आमूल सुधार गर्न अलिकति पनि ढिला गर्नुहुँदैन । 

सोमबार, २६ फागुन २०८१, १२ : ५३

प्रतिक्रिया