नाडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर

मंगलबार, २७ फागुन २०८१, १० : ०३

काठमाडौं- राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलिको प्रमुख आतिथ्यतामा फागुन २६ देखि काठमाडौंमा पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । सो सम्मेलन भोली २७ गतेसम्म चालु रहने छ ।

उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सम्मेलन प्रारभ्म भएको हो । नाडा सो सम्मेलनको वित्तिय सहयोगि भई सो सम्मेलनको आयोजक मध्येको एक संस्था भएको छ । नाडा आफ्नो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्र (MOU) मा हस्ताक्षर समेत भएको छ ।

सो समझदारी पत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका हुन् । यसले रोजगारी र श्रमिकहरुको अभिबृद्धिका लागि सरकार र नेपालको नीजि क्षेत्र समन्वयात्मक रुपमा अघि बढने अपेक्षा गरिएको छ । यसलाई नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढने संकल्पको रुपमा लिएको छ । 

सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु समेत दिएका छन् । आफ्नो प्रस्तुतिको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगरीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढदो बसाइ सराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानकालागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजश्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान,अटोमोवाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु,नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरुका विषयमा तथ्याङ्कगत प्रस्तुति दिएका हुन् ।

उक्त सम्मेलनमा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती केन्द्रिय कार्यसमिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो । 

मंगलबार, २७ फागुन २०८१, १० : ०३

प्रतिक्रिया