घरजग्गाको कारोबारमा किन आएन उत्साह ?

आइतबार, ०३ चैत्र २०८१, १३ : ५३


काठमाडौ- मुलुकमा संविधान बनेको एक दशक पुगे पनि राजनीतिक तथा आर्थिक संक्रमणबाट मुलुकले अझै निकास पाउन सकेको छैन । अर्थतन्त्रका सूचकहरु खासै आशावादी देखिएका छैनन् । बजारमा लगानीयोग्य वातावरण नबनेको कारण राष्ट्रबैंकले दिनहुँ तरलता खिच्दै आएको छ । यसको सोझो अर्थ बजारमा पैंसाको हाहाकार छ तर बैंकहमा पैंसा थुप्रिएको भन्ने बुझिन्छ । 

  फागुन महिनामा घरजग्गा कारोबारमा राजस्व केही बढे पनि उत्साहजनक अवस्था छैन । फागुनमा  करिब ५ हजार लिखित पारित घटे पनि बढी मूल्यका जग्गा खरिदबिक्री हुँदा राजस्व बढेको हो। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा १३४ वटा मालपोत कार्यालयबाट ४६ हजार ६१ वटा लिखत पारित भएका छन् भने ५३ वटा अपार्टमेन्ट खरिदबिक्री भएका छन्।

गत आर्थिक वर्ष फागुनमा ५० हजार ९९८ लिखत पारित हुँदा २९ वटा अपार्टमेन्ट खरिदबिक्री भएका थिए।

फागुन महिनामा राजस्व संकलन ४अर्ब १२ करोड रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको फागुन महिनामा ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। सरकारले जग्गाको मूल्यांकन बढी भएका ठाउँको जग्गा खरिदबिक्री हुँदा राजस्वमा केही सुधार भएको बताइएको छ । 


सामान्यतया  मंसिरदेखि चैतसम्म घरजग्गाको बढी कारोबार हुने गर्दछ । पछिल्ला ३ महिनाको तथ्यांक हेर्दा केही बढे पनि उत्साहजनक देखिँदैन।

माघ महिनामा ४६ हजार ६९ वटा कारोबार भएका थिए। २९ वटा अपार्टमेन्ट लिखत पारित भएका थिए। पुस महिनामा ४८ हजार १५६ लिखत पारित भएका थिए। मंसिरमा ४३ हजार ३७९ लिखत पारित भएका छन्। 

कात्तिकमा ३३ हजार ५१४ लिखत पारित भएका छन्। असोजमा ३० हजार ५२७ लिखत पारित भए। भदौमा ३२ हजार ७९८ लिखत पारित भएका छन्।  साउनमा ४३ हजार ८३५ लिखत पारित भएका छन्।

घरजग्गा कारोबारमा आएको शिथिलताको कारण समग्र आर्थिक गतिबिधिमा पनि सुस्तता आएको छ । यो परिस्थितिको जिम्मेवार सरकारको लगानीमैत्री नीति नहुनु नै हो । जसका कारण ग्रामिण अर्थतन्त्र पनि सुस्ताएको छ । सरकारी नीति नै अस्थिर र लगानीमैत्री बन्न नसक्दा मानिसहरु जोखिम मोलेर लगानी गर्न सकिरहेका छैनन् । 
 

आइतबार, ०३ चैत्र २०८१, १३ : ५३

प्रतिक्रिया