स्ववियु निर्वाचन

सिन्धुली बहुमुखी क्याम्पसका बागी उम्मेदवार कार्की अखिल(क्रान्तिकारी)बाट निष्कासित

शुक्रबार, ०८ चैत्र २०८१, १७ : ०६

सिन्धुली- नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)ले यही चैत ९ गते हुन लागेको स्ववियु निर्वाचनमा संगठनको निर्णय विपरीत सिन्धुली बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिएका विनोद कुमार कार्कीलाई कारबाही गरेको छ ।

अखिल(क्रान्तिकारी) सिन्धुलीका अध्यक्ष सुमन रानाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा एमाले निकट अनेरास्ववियुसँग भएको चुनावी गठबन्धनको निर्णय विपरीत सिन्धुली बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिएका कार्कीलाई संगठनको साधारण सदस्यबाटै निष्कासित गरिएको जानकारी दिएका छन् । 

‘सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीमा अखिल(क्रान्तिकारी)का नेता विनोदकुमार कार्कीले संगठनको निर्णय विपरीत स्वतन्त्र ढंगले अध्यक्ष पदको उम्मेदवारी दिएको र पटक पटक संगठन र पार्टी नेतृत्वको अनुरोधलाई समेत कुनै प्रवाह नगरी अटेर गरेकाले निज विनोदकुमार कार्कीलाई आजकै मितिबाट अखिल(क्रान्तिकारी)को साधारण सदस्य समेत नरहने गरी संगठनबाट निष्कासन गरेको जानकारी गराउँछौं ।’,अध्यक्ष रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्र सिन्धुलीका नेता एवं सांसद राजन दाहालले अनेरास्ववियु र अखिल(क्रान्तिकारी)को चुनावी गठबन्धन विरुद्ध कार्कीलाई स्ववियु अध्यक्षमा उम्मेदवारी दिन लगाएको आरोप लागेको थियो । सांसद दाहालले दुई विद्यार्थी संगठनको चुनावी गठबन्ध विरुद्ध कार्कीलाई सिन्धुली बहुमुखी क्याम्पसमा बागी उम्मेदवारी दिन लगाएको विषयमा आजको अर्थले समाचार प्रकाशित गरेको थियो ।

हेर्नुहोस् समाचार 

सांसद राजन दाहालद्वारा स्ववियु निर्वाचनमा बागी उम्मेदवार खडा

यस विषयमा आजको अर्थमा समाचार प्रकाशित भएसँगै अखिल(क्रान्तिकारी) सिन्धुलीले संगठनको निर्णय विपरीत बागी उम्मेदवारी दिएका कार्कीलाई निष्कासन गरेको हो ।

96a3c2e3-b1fe-4b0f-bca8-09e63698b4e6

 

 

शुक्रबार, ०८ चैत्र २०८१, १७ : ०६

प्रतिक्रिया