काठमाडौं - यतिबेला नेपाली समाज वैचारिक र राजनीतिक संक्रमणको दोसाँधमा उभिएको छ । १८ वर्ष पहिले गद्दीच्यूत भएका राजा लोकप्रिय बन्दै गएको केही अनुभूति हुन थालेको छ । उनै राजाले जीवनदान दिएको तत्कालीन संसदले राजतन्त्रको अन्त्य गर्ने निर्णय गरेको थियो । तत्पश्चात राजसंस्थाबारे. चल्दै आएको बहस अहिले अलि पेचिलो बन्न थालेको छ ।
नेपालमा राजतन्त्र इतिहास भैसकेको छ । अब राजतन्त्र शासनमा फर्किन त्यति सजिलो छैन । गणतान्त्रिक प्रणाली संस्थागत भैसकेको छ । तर पनि किन मानिसहरु यो विगतकै एकतन्त्रीय राजतन्त्रात्मक व्यवस्थालाई संझिरहेका छन् ? यसको दार्शनिक तथा समाजशास्त्रीय उत्तर खोज्न जरुरी छ । दार्शनिक प्लेटोले भनेका थिए, जब शासकहरु अयोग्य हुन्छन् मानिसहरु अतितप्रति नोस्टाल्जिक बन्छन् ।’ अहिले नेपालमा भएको त्यही हो । अवश्य पनि राजतन्त्रकालमा आजको जस्तो स्वतन्त्रता थिएन । विकासको परिधी पनि आजको जस्तो फराकिलो थिएन । नागरिक एक प्रकारको बन्दज समाजमा थिए । आर्थिक गतिविधिहरु आजका जस्ता थिएनन् । बहुसंख्यक जनताको जीवन दयनीय थियो । आधुनिक राज्यमा पाइने अधिकारहरु प्राप्त थिएनन् । यी सबै कारणहरुले राजतन्त्रप्रति विगतमा मानिसहरुको मोहभंग भयो र गणतन्त्रप्रति आकर्षण बढ्यो ।
प्लेटोले भने जस्तै गणतन्त्रका शासकहरु अयोग्य मात्र होइन विगतका राजाहरु भन्दा पनि सामन्ती बन्न थाले । नागरिकलाई रैति जस्तै व्यवहार गर्न थाले । ऐतिहासिक जनआन्दोलनका उपलब्धीहरुलाई आफ्नो पारिवारिक र गुटगत फाइदाको लागि प्रयोग गर्न थाले । प्रधानमन्त्री र मन्त्रीहरुको बोलीबचन आलोचकहरुलाई हेप्ने गरी प्रकट हुनथाले । अहिलेका शासकहको मनपरीतन्त्रले नै मानिसहरु विगत संझिन बाध्य भएका हुन । तर गणतन्त्रवादी नेताहरु आफूलाई सुधारर्नुको साटो राजा ज्ञानेन्द्रलाई गाली गर्न समय खर्चिरहेका छन् ।
अरुलाई आलोचना गर्नुभन्दा पहिले आफू किन आलोचित भएको छु भन्ने सोच्नु पर्दछ । किन मानिसहरु राजाको जयजयकार गरिरहेका छन् ? आखिर राजाको पछि लाग्ने पनि त नेपाली नै हुन । त्यसैले बिरोधीको आवाज सुन्ने धैर्यता देखाऊ । शासकीय शैलीमा आमूल सुधार ल्याऊ । युवा पुस्तालाई देशमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वास जागृत गराऊ । अनि मानिसहरु विगतलाई भुल्दै जानेछन् । खोक्रो सैद्धान्तिक भाषण मात्र गर्दै जाने हो भने राजा नआउलान् तर यो व्यवस्था रहने छैन र आजका नेताहरुको चौचित्य पनि समाप्त हुनेछ ।
प्रतिक्रिया