काठमाडौं- काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना तिर्न राजावादीहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् ।
शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा भएको क्षतिपूर्ति स्वरुप काठमाडौं महानगरका मेयर बालेन शाहले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेपछि विदेशमा रहेका राजावादीहरुले आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।
यसका लागि पोर्चुगलमा रहेका राजसंस्था पुनस्र्थापनाका पक्षधर पूर्वपर्यटन प्रबद्र्धक रमेशराज बास्तोलाले सामाजिक सञ्जालमार्फत यो अभियान थालेका हुन् । उनले ‘विदेश बस्ने राष्ट्रवादीले तिरिदिऔं यो जरिवाना’ भन्दै आर्थिक संकलन अभियान सुरु गरिएको जानकारी गराएका छन् ।
यो पनि
पूर्वराजाको नाममा काठमाडौं महानगरको पत्र, ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय
यस अघि पोर्चुगलका लागि नेपाल सरकारको पर्यटक प्रबद्र्धक नियुक्त भएका बास्तोलाले पूर्वराजाको फागुन ७ को सम्बोधनलाई समर्थन गरेपछि उक्त पदबाट निष्कासित भएका थिए । उनै बास्तोलालो विदेशमा बस्ने राजसंस्था पक्षधरहरुबाटै पूर्वराजा शाहमाथि तोकिएको जरिवाना तिर्न आर्थिक संकलन अभियान सुरु गरेका छन् । उनले आफैं पचास हजार दिएर यो अभियान सुरु गरेका हुन् ।
अहिले विदेशमा रहेका राजसंस्थाका समर्थक नेपालीहरुले स्वतस्फुर्तरुपमा आर्थिक सहयोग गर्न थालेको बास्तोलाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । राजसंस्थाका पक्षधर अंगत देवकोटाको बैंक एकाउन्टमा क्युवार कोड मार्फत पैसा पठायर सहयोग गर्न अपिल गर्दै उनले संकलित रकम काठमाडौं महानगरलाई जनआन्दोलन समितिका सदस्यले तिरिदिने उल्लेख गरेका छन् ।
काठमाडौं महानगरले पूर्वराजा शाहको नाममा विभिन्न शीर्षकमा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले तीनकुने क्षेत्रमा सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै शाहलाई जरिवाना तोकेको पत्र काटेको हो ।
प्रतिक्रिया