काठमाडौं– पछिल्लो एक महिनाको अवधिमा सेयर बजारले निकै घटबढ सामना गरेको छ । गत फागुन १६ गते छ महिनाको अवधिभरकै उच्च विन्दुमा पुगेको सेयर बजार पछिल्लो साताहरुमा भने बढिरहन सकेन । अझै भनौँ बढेको त्यही विन्दुमा पनि टिकिरहन सकेन ।
फागुन १५ गते २८१५.०४ विन्दु कायम भएको सेयर बजार चैत १७ गते आइतबार बजार बन्द हुँदा २६९५.५५ विन्दु कायम भएको छ । नेप्से परिसुचक एक महिनाको अवधिमा ११९.४५ अंकले घटेको हो । तर यो लगातार घटेको अंक भने होइन । सेयर बजार एक महिनाको अवधिमा निकै उतारचढाव सामना गर्दैै यो विन्दुमा पुगेको हो ।
साउन ३१ गते यस वर्षको सबैभन्दा उच्च तीन हजार अंकमा पुगेको बजार असोजमा १३ गते यो वर्षको हालसम्मकै न्यूनतम विन्दु २४६४ अंक कायम भयो । फागुन महिनाको सुरुमा बढ्दो लयमा रहेको बजारले फागुन १५ गते छ महिनापछिको उच्च विन्दु बनाएपनि अन्तिम साताबाट भने घटबढको स्थितिमा सिर्जना भएको हो ।
दोस्रो हप्ताको अन्तिम कारोबार दिन फागुन १५ गते बिहीबार उच्च विन्दुमा पुगेको सेयर बजारमा फागुनको तेस्रो सातामा पनि अर्को ठुलो विन्दु कायम भयो । त्यस साता ३.३९ अंकको वृद्धि हुँदा पुनः २८१८.४३ को नयाँ उच्च विन्दुमा पुगेको थियो । त्यो साता पहिलो कारोबार दिन मात्र नेप्से बढेको थियो भने बाँकी चार दिन नेप्से परिसुचक घटेको थियो । चार दिन गिरावट आएको भएपनि पहिलो दिन उच्च अंकले वृद्धि हुँदा त्यस साताको सेयर बजार बढेको थियो । त्यस साता औसतमा दैनिक १२ अर्ब ५१ करोड ११ लाख ९० हजारको कारोबार हुँदा कुल कारोबार रकम ६२ अर्ब ५२ करोड ४ लाख रुपैयाँ बराबर रहेको थियो ।
तर, तेस्रो साताका पछिल्लो चार दिन घटेको सेयर बजार फागुन चौथो साता थप घट्यो । त्यस साता नेप्से परिसूचक ८१.९५ अंकले घटेर २७३६.४८ विन्दुमा पुग्यो । चार दिन कारोबार भएको त्यस साता सुरुवाती तीन कारोबार दिन लगातार घटेको बजार कारोबारको अन्तिम एक दिन मात्र सामान्य अंकले बढेको थियो ।
कुल ३५ अर्ब ९८ करोड ३ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको त्यस साता औसतमा दैनिक ८ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस साता सेयर बजार घट्नुको प्रमुख कारण राजावादी प्रदर्शनको प्रभाव देखिएको थियो । फागुन २५ गते आइतबार राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्था पक्षधर समूहले काठमाडौंमा भव्य प्रदर्शन गरेपछि आइतबार बढेको बजार सोमबारबाट लगातार घट्न थालेको थियो ।
बजार बढ्ने अनुमान गरिएको भएपनि चैतको पहिलो साता पनि सेयर बजार घट्ने क्रम रोकिएन । त्यस साता नेप्से परिसूचक ६७.१७ अंकले घटेर २६६९.३१ विन्दुमा पुग्यो । त्यस साताका पाँचै दिन कारोबारको नेप्से परिसुचकमा दोहोरो अंकले गिरावट आएको थियो । त्यस साता औसतमा दैनिक ५ अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा कुल कारोबार रकम २६ अर्ब २८ करोड ८५ लाख ४० हजार रुपैयाँ बराबर रहेको थियो ।
त्यतिबेला राजावादीहरुको र समाजवादी मोर्चा दुवै पक्षले एकैदिन प्रदर्शनका लागि तोकेको मिति नजिकिदैँ थियो । चैत १५ गते राजावादी पक्षधरले काठमाडौँंको तीनकुनेमा तथा समाजवादी मोर्चाले भद्रकालीमा प्रदर्शन गर्ने तय गरेका थिए । राजनैतिक अस्थिरताको परिणामस्वरुप त्यस साता शेयर बजार घटेको थियो । फागुन २५ गते भएको राजावादीहरुको प्रदर्शनको विरोध स्वरुप समाजवादी मोर्चाले जवाफी प्रदर्शनको घोषणा गरेपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको थियो ।
चैतको दोस्रो साता सेयर बजारमा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । गत साता नेप्से परिसूचक ६.०१ अंकले घटेर २६६३.३० विन्दुमा पुग्यो । साताका सुरुवाती चार कारोबार दिन दोहोरो अंकले घटेको नेप्से अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले नै वृद्धि हुँदा साताभरमा झिनो अंकले मात्र गिरावट आएको छ । गत साता औसतमा दैनिक ५ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा कुल कारोबार रकम २५ अर्ब ४० करोड ७५ लाख ५७ हजार रुपैयाँ बराबर रहेको थियो ।
चैत तेस्रो साताको पहिलो कारोबार दिन १७ गते नेप्से परिसुचक ३२.१४ अंकले बढेर २६९५.५५ विन्दु पुगेको छ । केही समयदेखि बजार घटबढ भएपनि चैत १७ गतेको केही करेक्सनपछि सेन्सेटिभ इन्डेक्स ०.८९ प्रतिशत, फ्लोट इन्डेस १.११ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेस ०.९३ प्रतिशतले बढेको छ ।
पछिल्लो समय बढेको राजनैतिक घटनाक्रम र अन्योलताको सिधा असर सेयर बजारमा पनि परेको छ । राजावादी पक्षधरको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु र ११० भन्दा बढी घाईते भए । सरकारले राजावादी पक्षधरका राप्रपाका रविन्द्र मिश्रलगायत नेताहरुलाई प्रकाउ परेपछि राप्रपा र राप्रपा नेपालले फेरि विरोध आन्दोलन सुरु गरेका छन् यो क्रमले निरन्तरता पाएर राजनैतिक अस्थिरता बढेमा सिधा असर सेयर बजारमा पर्न सक्ने देखिन्छ ।
यसका साथै यही चैत २४ गतेबाट गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदैछ । नयाँ गभर्नरका लागि आंकाक्षीहरुका चलखेल बढ्दा यसको प्रभाव पनि शेयर बजार पर्न जान्छ ।
यता माघ २५ गतेदेखि रिक्त रहेको छ । सरकारले चैत ११ गते सिईओमा नारद लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेपनि नियुक्ति भने पाएका छैनन् । लुइँटेल सिईओका लागि सर्टलिस्टमा परेपछि विवाद भएकोले अब सीईओ को हुने भन्ने अन्योल कायमै छ । नेप्सेले नयाँ सीईओ पाएपछि बजार कता जान्छ भने हेर्न बाँकी छ ।
प्रतिक्रिया