एक करोडको कारोबार गर्दै ४ दिने कृषि सम्पन्न

६ बर्ष अगाडि

बनेपा–बनेपास्थित नयाँ तरकारी बजारमा सुरु भएको ४ दिने कृषि मेला समापन भएको छ । तरकारीजन्य, दुधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषि सम्वन्धी नयाँ प्रविधिको प्रदर्शन रहेको मेलामा एक करोड बढीको कारोवार भएको तथा १० हजार बढीले अवलोकन गरेको आयोजकको दावी छ । 
समापन समारोहलाई सम्बोधन गर्दै सूचना, संचार तथा प्रविधि राज्यमन्त्री गोकूल बास्कोटाले सरकारले कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन लागेको बताउँदै टुक्रे खेति नभई अब चक्लाबन्दी खेति गर्न आग्रह गरे । 
 सरकार सम्वृद्ध नेपाल सुखी नेपाली को नाराका साथ अघि बढेको हुँदा अब जनताले प्रत्यक्ष लाभ पाउने गरि सरकारले काम गर्ने बताए । 
 राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले अब स्थानीय सरकार हुँदै स्थायी सरकार समेत बनेको हुँदा कृषि क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा काभ्रे जिल्लाका प्रदेश सांसदहरु बसुन्धरा हुमागाईं र लक्ष्मण लम्सालले आफुहरु पनि कृषककै छोरा भएकाले कृषि क्षेत्र र कृषकहरुको उन्नतीका लागि नीतिगत रुपमा आफुहरु लागि पर्ने बताए । 
काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि बनेपा, (नयाँ तरकारी बजार) सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था लि., प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयूक्त आयोजनामा ४ दिने कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला २०७५ ले कृषि क्षेत्रमा नयाँ सन्देश दिने आयोजक काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि अध्यक्ष पूर्णचन्द्र सिग्देलले बताए । 
मेलामा कृषि उपज, कृषि सामग्री, पशुजन्य वस्तुहरुको प्रदर्शनीसँगै किसानहरुबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकहरुलाई पुरस्कार, नर्सरी, मह लगायतको व्यवस्था समेत गरिएको थियो भने ५० भन्दा बढी स्टलहरु रहकोमा किसानहरुका लागि निःशुल्क स्टलहरुको व्यवस्था गरिएको थियो । 
मेलालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन ईकाई (आलु), लभ ग्रिन नेपाल, सिप्रेड, ग्रामिण उत्थान बहुमुखी सेवा समिति, ग्रामिण आदर्श सेवा केन्द्र लगायतका संस्थाहरुले पनि सहयोग गरेको आयोजकले बताएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया