काठमाडौं- नेपाल अहिले संघीय लोकतान्त्रिक शासन प्रणालीको अभ्यास गर्ने मुलुकमा पर्दछ । झण्डै ७० वर्षको नेपाली जनताको संघर्षबाट स्थापित संविधानसभाले बनाएको संविधानले दिशानिर्देश गरे अनुसार मुलुक अघि बढिरहेको छ । त्यसको एक मुख्य खेलाडि माओवादी केन्द्र रहेको छ । यस मानेमा नेपाली जनताले माओवादीबाट मुलुक परिवर्तनको आशा राख्नु पनि स्वभाविक नै ठहर्छ । तर पछिल्लो चरण्मा माओवादीप्रतिको आकर्षण घट्दो क्रममा रहेको पाइन्छ ।
१० वर्षसम्म सशस्त्र विद्रोह गरेर मुलुकको राजनीतिमा निर्णायक बनेको माओवादी किन यति छिटै जनताको बीचमा अलोकप्रिय भयो भन्ने सामान्य प्रश्न होइन । माक्र्सवादका अनुसार कुनै पनि वस्तुको विकास र विनास विभिन्न कारणले हुने गर्दछ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण आन्तरिक कारण हो । बाहिरी कारण सहायक मात्र हो । माओवादी पनि आन्तरिक कारणले नै झण्डै बिघटनको अवस्थामा पुगेको छ । माओवादी आन्दोलन अहिले एकतावद्ध छैन । ऐतिहासिक विद्रोहको नेतृत्व गरेको माओवादी पार्टी अहिले विभिन्न सात टुक्रामा विभाजित छ । त्यसमध्ये सबैभन्दा ठूलो समूहको नेतृत्व प्रचण्डले गरेका छन् । संसदमा चौथो शक्तिमा रहेको उनको दल पनि निरन्तर ओरालो लागेको छ । यसो हुनुको पछाडि अध्यक्ष प्रचण्डकै अस्थिर नीति र कार्यक्रम हो भन्ने कुरा छर्लङ्ग हुँदै आएको छ । उनी पार्टीमा झण्डै ४० वर्षदेखि एकछत्र शासन गदै आएका छन् । आलोचनत्मक विचार राख्नेहरुप्रति उनी निकै असहिष्णु देखिन्छन् ।
उनको व्यवहारलाई लिएर पार्टीभित्रै तीब्र असन्तुष्टि छ तर खुलेर भन्ने आँट कसैले गर्दैनन् । अलिकति आँट गर्ने जनार्दन शर्मा हुन् । उनलाई पार्टी छोड्ने धम्कि दिइएको स्वयम शर्माले सार्वजनिक रुपमै बताउन थालेका छन् । यो समस्या सबै कम्युनिष्ट पार्टीहरुमा रहेको छ । त्यसको उदाहरण एमालेका भिम रावल नै छन् । ओलीको आलोचना गर्दा उनको राजनीतिक जीवन नै समाप्त पारियो । यही भयले कम्युनिष्ट पार्टीमा आन्तरिक लोकतन्त्र शून्यप्राय देखिन्छ । जसको कारण पार्टी प्रमुखहरु तानाशाही बन्दै गएको देखिन्छ ।
प्रचण्ड आफ्नो नीतिमा खास अडान नभएको नेतामा पर्दछन् । त्यसको ज्वलन्त उदाहरण भिजिट भिसा प्रकरण रहेको छ । जसमा उनले अत्यन्त अविश्सनीय र छेपारे प्रवृत्ति देखाउन पुगे । मानव तस्करी जस्तो विषयमा उनले सुरुवाति चरणमा लिएको अडानको सबैतिर प्रशंसा भएको थियो । संसदका दुई ठूला दल मिलेर सरकार बनाएकोले लोकतन्त्रमा तरवार त झुण्डाइएको थियो । तर विपक्षी दल माओवादी ज्यूँदो छ नि भन्ने जनताको अपेक्षा थियो । गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाएको मओवादीको बिरोधका कारण संसद पनि अवरुद्ध थियो । तर जनताको आशाको केन्द्र प्रमुख प्रतिपक्ष नै सत्तासँग मिल्न गयो । यसले अब यो मुलुकमा सुशासनको आशा गर्ने ठाउँ नै रहेन ।
कुरा यतिमा मात्र सिमित रहेन । भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न रहेको गम्भीर आरोप लागेका गृहमन्त्री रमेश लेखकले प्रमुख प्रतिपक्षी माओवादीको साथ पाएपछि उल्टै संसद्को रोस्टमबाट पीडितदेखि मिडियासम्मलाई धम्की दिएका छन् । शुक्रबार संसद् बैठकमा बोल्दै उनले आफूमाथि लागेका आरोपको तथ्यपरक जवाफ दिनुको सट्टा उजुरी गर्ने पीडितहरूलाई उल्टै कारबाहीको चेतावनी दिएका छन् । सुरुमा रक्षात्मक देखिएका गृहमन्त्री लेखक माओवादीको समर्थनपछि भने आक्रामक देखिए ।
माओवादीको विरोध हुँदासम्म रक्षात्मक देखिएका गृहमन्त्री रमेश लेखक शुक्रबार संसदमा नयाँ ऊर्जासाथ प्रस्तुत भएका छन् । भिजिट भिसाको नाममा भइरहेको संस्थागत मानव तस्करीको गम्भीर आरोप भए पनि माओवादीको समर्थनपछि आत्मविश्वासी देखिएका लेखकले उजुरीदातामाथि कारबाहीको चेतावनीसमेत दिए । शालीन र सकेसम्म सानो स्वर बोल्ने गृहमन्त्री लेखक शुक्रबार ‘अलग्गै रूप र शैली’मा प्रस्तुत भए ।
मानव तस्करीको आरोपलाई सामसुम पार्न माओवादी समेत मिलेपछि माओवादी पार्टी पंक्तिमा तीब आक्रोश पैदा भएको छ । युद्धकालमा कार्यकर्तालाई मर्न र मार्न प्रेरित गर्ने नेतृत्व आज किन भ्रष्टाचार, मानव तस्करी र कुशासनमा साथ दिइरहेको छ ? संसदीय व्यवस्थाकै मर्म अनुसार पनि विपक्षीको धर्म किन निर्वाह गर्न सकिरहेको छैन ? के यही तालले ८४ मा पहिलो पार्टी बन्न सक्ला त मावोवादी ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोजिरहेका छन् कार्यकर्ताहरु । कुन नैतिकताले जनतासँग जाने भन्ने चिन्ता पनि माओवादी कार्यकर्तामा देख्न सकिन्छ ।
पदबाट राजीनामा समेत दिने अवस्थामा पुगेर हतास र निराशाजनक स्थितिमा पुगेका गृहमन्त्री लेखक माओवादीकै समर्थनका कारण उत्साहित देखिएका छन् । उनको अपराधको साक्षी किन बसिरहेको छ मओवादी नेतृत्व ? यस वापत के प्राप्त गर्नेछ उसले ? यो प्रश्नको जवाफ इतिहासले खोजीरहनेछ । माओवादीले व्याकप दिएकै कारण शुक्रबार मन्त्री लेखकमा यो तहको आत्मविश्वास थियो कि रास्वपा र राप्रपा कुनै शक्ति नभएको हिसाबले प्रस्तुत भए । प्रश्नहरूको दबाबबाट मुक्त भएको झल्को उनको अनुहारमा देखिन्थ्यो । माओवादी लचक हुँदै सँगै आइदिएपछि उनको चिन्ता हट्यो, पूर्ण आत्मविश्वासका साथ उनी सक्रिय देखिएका छन् । भविष्यमा माओवादीले यसको परिणाम भोग्नु नपर्ला र ?
प्रतिक्रिया