किसानको वित्तीय पहुँच विस्तारका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठी सम्पन्न

मंगलबार, ०३ असार २०८२, १५ : ४५

काठमाडौं— साना किसान तथा उद्यमीहरूको वित्तीय पहुँच विस्तार र कृषि उत्पादन वृद्धिका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ। हेफर इन्टरनेशनल नेपालको आयोजनामा बुटवलमा सम्पन्न कार्यक्रममा बैंक, बीमा कम्पनी, सहकारी संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कृषि उत्पादन वृद्धिका लागि साना किसानहरूको पहुँच बैंक सम्म पु¥याउदै लगानीलाई सरल र सहज बनाउनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । उनीहरूले सबैले अभियान नै चलाएर कृषकको पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि कृषि विकास बैंक लिमिटेडका लुम्बिनी प्रदेश निर्देशक नवराज न्यौपानेले कृषकका लागि उत्पादन र बजारीकरणमा सहयोग पुर्‍याउने खालका लगानीमैत्री नीतिको आवश्यकता औँल्याए। बैंक साथी परिचालन तथा वित्तीय साक्षरता विस्तारमा हेफरको सहजीकरण प्रभावकारी रहेको भन्दै उनले साना किसान र सहकारीलाई लक्षित गर्दै ६ प्रतिशत ब्याजदरमा भिटा परियोजना अन्तर्गत ऋण प्रवाह भइरहेको जानकारी गराए।

प्रभु बैंक लिमिटेडकी प्रदेश प्रबन्धक स्मृति श्रेष्ठले प्रक्रिया पुरा गरी आएका कृषकलाई प्राथमिकताका साथ कर्जा प्रवाह भइरहेको बताइन्। राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगिता धितालले सहकारीहरूमा विना धितो ऋण लगानी भइरहेको जनाउँदै सहकारीको क्षमता अभिवृद्धिमा समेत जोड दिइन्।

हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम कुमार साम्ब्युले १७ वटा बैंकसँग सहकार्यमा देशभर २ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको जानकारी गराउँदै बुटवल क्षेत्रीय कार्यालयअन्तर्गत १६ वटा बैंक तथा वित्तीय संस्थामार्फत ३२१ जना महिला तथा युवा उद्यमी र २९ सहकारीहरूमा ४० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको बताए।

बुटवल क्षेत्र अन्तर्गत पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र स्याङ्जा जिल्लाका १२ स्थानीय तह र ८१ सहकारीमा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

कार्यक्रममा प्रभु बैंक, एभरेष्ट बैंक, राष्ट्रिय सहकारी बैंक, सिद्धार्थ इन्स्योरेन्स, विभिन्न सहकारी संस्थाका पदाधिकारीहरू, लुम्बिनी प्रदेश सरकारका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। उनीहरूले बैंकिङ लगानी प्रक्रिया, धितो मूल्याङ्कन, बीमा, वित्तीय साक्षरता, व्यावसायिक बैठक लगायतका विषयमा विचार व्यक्त गरेका थिए।

कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वित्तीय अधिकृत नागेन्द्र भट्टले लगानीको अवस्था, अवसर र चुनौतीबारे प्रस्तुति दिएका थिए भने सहजीकरण वरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेले गरेका थिए।
 

मंगलबार, ०३ असार २०८२, १५ : ४५

प्रतिक्रिया