काठमाडौं– ‘पढाइसँगै सिकाइ र कमाइ’ भन्ने नारालाई व्यवहारमा उतार्दै हिमाल कलेज अफ म्यानेजमेन्ट तथा डाइनामिक एकेडेमीले विद्यालय तहमै व्यावहारिक कृषि तथा व्यवसायिक शिक्षा अभियान सुरु गरेको छ।
कक्षा ११ देखि लागू गरिएको यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले स्व–लगानीमा आधारित विभिन्न प्रोजेक्ट सञ्चालन गरिरहेका छन्। बासमती खेती, औषधीय वनस्पति उत्पादन, अर्गानिक मल निर्माण, बिरुवा संरक्षण र फलफूल व्यवस्थापन जस्ता विषयमा तीन महिनादेखि एक वर्षसम्मको प्रतिफल दिने तालिम दिइँदैछ। कार्यक्रम कृषि विज्ञ डा. विश्वास सुवेदीको प्राविधिक सुपरिवेक्षणमा सञ्चालन भइरहेको छ।
विद्यालय निर्देशक कृष्ण गुरुङले भने, "पुस्तकमा सिमित नभई व्यवहारमा आधारित ज्ञान नै विद्यार्थीको भविष्य बनाउँछ भन्ने मान्यताले हामीले अभियान सुरु गरेका हौं।"
इन्चार्ज एलिना पराजुलीका अनुसार, सानो उमेरमै लगानी र आत्मनिर्भरता सिकाउने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको हो। "१२ कक्षा सकिएपछि विद्यार्थीहरू रोजगार खोज्नेमात्र होइन, आफैं सानो व्यवसाय सञ्चालन गर्न सक्ने हैसियतमा पुग्नेछन्," उनले भनिन्।
अनुशासन इन्चार्ज सुरेश लामाले कार्यक्रमले विद्यार्थीहरूमा देखिएको व्यवहारिक परिवर्तन उत्साहजनक रहेको बताए। कलेज अध्यक्ष चेतनाथ भण्डारीले अभियानले आत्मनिर्भरता, आत्मविश्वास, कार्यकुशलता र नेतृत्व क्षमता विकासमा सहयोग पुगेको जनाए।
स्नातक तहमा पनि व्यवहारिक शिक्षा जोडिएको छ। BBS तहमा बैंकिङ तालिम र औद्योगिक क्षेत्र भ्रमण (field visit) जस्ता कार्यक्रमहरू सञ्चालन गरिँदैछन्। वरिष्ठ प्रशासनिक अधिकारी विनोद गिरीका अनुसार, यस्ता अभ्यासहरूकै कारण हिमाल कलेज TU अन्तर्गतको परीक्षामा दुईपटकसम्म देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो।
व्यवहारमा आधारित शिक्षालाई जोड दिएको यस कार्यक्रमलाई अन्य विद्यालय तथा कलेजहरूले पनि अनुकरण गर्नुपर्ने आवश्यक देखिएको छ।
प्रतिक्रिया