बीमा क्षेत्रमा सुधारका लागि वार्षिक नीति ल्याइँदै, मस्यौदामाथि छलफल सम्पन्न

शनिबार, ०७ असार २०८२, १२ : ०३

काठमाडौं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षदेखि समग्र बीमा क्षेत्रका लागि ‘वार्षिक बीमा नीति’ ल्याउन सुरू गर्ने बताएका छन्।

नेपाल बीमा प्राधिकरणको आयोजनामा केन्द्रीय कार्यालय, कुपण्डोलमा जीवन बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग वार्षिक बीमा नीति २०८२ को मस्यौदामाथि भएको छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्र सुधारको दिशामा विधिसम्मत रूपमा अगाडि बढोस्, प्रक्षेपित सेवा प्रवाह होस् र बीमा क्षेत्र अझै विश्वसनीय बनोस् भनेर वार्षिक बीमा नीति ल्याउन लागिएको बताएका हुन्।

ओझाले भने, “वार्षिक बीमा नीति ल्याएपछि त्यसअनुसार कार्यक्रम र बजेट बन्नेछ, स्रोत सुनिश्चित हुनेछन्, कार्यान्वयन गर्ने निकाय र शाखा स्पष्ट हुनेछन् र मूल्याङ्कन गर्न सजिलो हुनेछ। सबैले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने हुन्छ।”

उनले मस्यौदाको गहिरो अध्ययन गरी साना-ठूला सबै किसिमका सुझावहरू यही असार १५ गतेभित्र दिन बीमा कम्पनीहरूलाई आग्रह गर्दै भने, “सुझावहरूलाई नीतिमा समेट्ने प्रयास गर्नेछौं। नीति मार्फत प्रक्षेपित संयन्त्र बनाउने सोच हो। बीमाको दायरा बढाउन प्रक्षेपित सेवा महत्वपूर्ण छ। तिमीहरूले त्यो सेवा दिनुपर्छ।”

अध्यक्ष ओझाले भने,“बीमा कम्पनीहरूले दावी भुक्तानी गरेका छन्, तर ढिलाई हुनु मुख्य समस्या हो। छिटो र सहज रूपमा दावी भुक्तानी हुँदा बजारमा सकारात्मक सन्देश जान्छ। नागरिक सन्तुष्ट भएमा मात्रै बीमाप्रति विश्वास बढ्छ। तिमीहरू सबैले बीमाप्रतिको विश्वासीयता बढाउन लाग्नुपर्छ। भित्रका समस्याहरू प्राथमिकताका साथ समाधान गर्नुपर्छ।”

सरकारी भवन, सडक, पुरातात्विक सम्पदा लगायतका संरचनाहरूको बीमा कसरी गर्ने भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको र चाँडै सरकारसमक्ष बुझाइने जानकारी पनि उनले दिए।

कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रलाई सही दिशा दिने उद्देश्यले नीति ल्याउन लागिएको बताउँदै तिमीहरूबाट आउने सुझावले नीतिलाई अझ परिस्कृत बनाउन सहयोग पुर्‍याउने बताएका थिए।

कार्यक्रममा निर्देशक पूजन ढुंगेलले मस्यौदा प्रस्तुत गरेका थिए भने निर्देशन, प्रमुख कार्यकारी अधिकृतहरू तथा अन्य प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए।

शनिबार, ०७ असार २०८२, १२ : ०३

प्रतिक्रिया