काठमाडौं– हिमाल कलेज अफ म्यानेजमेन्ट तथा डाइनामिक एकेडेमीले आगामी असार १४ गते आयोजना गर्न लागेको “हिमाल युथ विज फेस्टिवल” को तयारी तीव्र रूपमा भइरहेको छ।
“हेरौं, सिकौं, कमाऔं” भन्ने नारासहित यो उत्सव विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा, व्यवसायिकता र आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको हो।
फेस्टिभलमा विद्यालय तह (नर्सरीदेखि कक्षा १०) का विद्यार्थीहरूले आफैंले बनाएका टेडी बियर, कुशन, सजावटी सामग्री, खेलौना आदि उत्पादन स्टलहरूमा प्रदर्शन र बिक्री गर्नेछन्। कार्यक्रममा विद्यार्थीहरूले यी सामग्री बनाउने व्यावसायिक सीप सिकेका थिए।
कक्षा ११, १२ तथा बीबीएसकाका विद्यार्थीहरूले भने बैंकिङ अभ्यास, अर्गानिक कृषि, मार्केटिङ रणनीति, फाइनान्स, पर्यटन गाइड डेमो, व्यवसाय योजना प्रदर्शन जस्ता व्यवहारिक कार्यक्रमहरू प्रस्तुत गर्नेछन्।
फेस्टिभलमा सहभागी एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि विशेष छुट र निःशुल्क उपहारको व्यवस्था गरिएको छ, जसले उनीहरूलाई प्रोत्साहित गर्नेछ।
कार्यक्रम अन्तर्गत “Local to Trendy Taste” नारासहित फूड फेस्टिभल पनि सञ्चालन हुनेछ। मोमो, चिउरा, अर्गानिक खाजा, थकाली खाना जस्ता परिकारहरूको स्वाद लिन सकिनेछ।
त्यसैगरी, इलेक्ट्रिक उपकरणहरू, अटोमोबाइल, र मेड इन नेपाल उत्पादनहरू समेटिएका स्टलहरू पनि रहनेछन्, जसले नवप्रवर्तन, प्रविधि र आत्मनिर्भर नेपालको अवधारणालाई समर्थन गर्नेछन्।
फेस्टिभलका सम्पूर्ण कार्यक्रमहरू — स्टल व्यवस्थापन, अतिथि स्वागत, प्रचार(प्रसार, सामग्री निर्माण, बिक्री व्यवस्था — सबै हिमाल कलेजकै विद्यार्थीहरूद्वारा सञ्चालन गरिनेछ। यसले उनीहरूलाई नेतृत्व, टोली समन्वय, वित्तीय योजना, र व्यवहारिक निर्णय क्षमता जस्ता सीपमा सक्षम बनाएको छ।
प्रमुख अतिथि शविता श्रेष्ठ रञ्जितले भनिन्, ‘विद्यार्थीहरू सानै उमेरदेखि सिर्जना, बजार विश्लेषण र व्यवसाय सञ्चालनमा संलग्न हुनु प्रेरणादायी छ। यस्तो अभ्यासले उनीहरूलाई आत्मनिर्भर बनाउनेछ।’
कार्यक्रममा इन्चार्ज एलिना पराजुलीले भनिन्, ‘फेस्टिभल साँचिकै जीवन उपयोगी अभ्यास हो। विद्यार्थीकै हातमा स्टल, उत्पादन र व्यवस्थापन दिनु भनेको उनीहरूको भविष्य निर्माण गर्नु हो।’
‘आज टेडी बनाउन सिकेका विद्यार्थीहरू भोलि आफ्नै ब्रान्ड लिएर उद्यमी बन्न सक्ने छन्।’, अनुशासन प्रमुख सुरेश लामाले भने ।
अध्यक्ष चेतनाथ भण्डारी भन्छन्,‘ यो विद्यार्थीको आत्मबल, नेतृत्व र व्यवहारिक सीपको प्रदर्शन हो। शिक्षामा अब व्यवहारिकता अपरिहार्य छ ।’
हिमाल कलेजको यो प्रयासले नेपाली शिक्षालाई सिर्जनशील, प्रयोगात्मक र उद्यमशील बनाउने दिशामा सशक्त सन्देश दिएको छ।
प्रतिक्रिया