बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतंक न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले ग्रामीण क्षेत्रमा बाँदर आतंकका कारण किसानले गाउँ छाड्न थालेपछि कम क्षति पु¥याउने फलफूल र मसलाबालीको खेती गरिने बताए ।
वडा नं ८ पुरानो गाउँमा ‘बाँदर बगँैचा’ बनाउने प्रमुख पुनको भनाइ छ । नयाँ आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ । युवालाई कृषिमा आर्कषण गर्न र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ ।
पालिकाभरका सबै किसानलाई सूचीकरण गरेर परिचयपत्र दिने प्रमुख पुनले बताए । नगरपालिकाले उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एमबुलेन्स सञ्चालनसमेत गर्ने भएको छ । दुग्ध उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार गर्ने, खोप लगाउने, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनको बजारीकरण गर्न किसानलाई सघाउने पुनले बताए । किसानलाई प्रोत्साहन गर्न बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति नगरपालिकाले लिएको छ ।
अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको प्रमुख पुन बताउँछन् । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बङ्गुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यात गर्ने नीतिमा उल्लेख छ ।
गत वर्ष लिएको ‘सेरा जाऔँ, केरा खाऔँ’ कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ । ‘छोरी जन्मे घर, खुसीको लहर’ भन्ने मूल नारासहित सञ्चालन भएको जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । छोरी जन्मेमा जन्मदर्ता गर्दा रु दुई हजार ५०० को खाता खोलिदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाभित्र रहेका घरबारविहीनलाई घर बनाइ दिने नगर प्रमुख पुनले बताउनुभयो । फूसका छाना विस्थापन कार्यक्रमलाई निरन्तरता उहाँको भनाइ छ । सुकुम्बासी समस्या समधानका लागि आवश्यक प्रक्रिया पूरा गरी यसै वर्ष नगरपालिकालाई सुकुम्बासीमुक्त पालिका घोषणा गरिने पुन बताउँछन् ।
नगरपालिकाले विद्यार्थीलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजाका लागि एक वडा, एक आवासीय माध्यमिक विद्यालय एक विद्यालय एक करेसाबारी बनाउने गरी ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई उद्यमशीलता तथा उत्पादनसँग जोड्न पढदै कमाउँदै कार्यक्रम सञ्चालन गरी स्थानीय उत्पादनलाई पाठ्य सामग्रीको रुपमा प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया